राजनीति

वर्षौँदेखि अवरुद्ध योजना सञ्चालनमा ल्याउने मन्त्री रावलको प्रतिबद्धता

०
Banner

सप्तरी, मंसिर १२ –

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले वर्षौँदेखि अवरुद्ध रहेका योजनाहरू पुनःसञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मन्त्री रावलले आज राजविराज नगरपालिका–१५ स्थित शीत भण्डारको अनुगमन तथा निरीक्षण गर्दै अवरुद्ध योजनाको सञ्चालन प्रक्रिया सप्तरीबाटै सुरु गर्ने बताउनुभयो । उहाँले तिलाठी कोइलाडी गाउँपालिका–४ डलवास्थित मुरहर बस्ती पुगेर स्थानीयवासीका समस्या तथा गुनासा सुन्नुभयो । उहाँले बस्तीको मुख्य समस्या सुरक्षा र जग्गाको स्वामित्वसँग सम्बन्धित रहेको उल्लेख गर्दै लालपुर्जा वितरणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भूमिहीन दलित बस्तीमा निर्माण गरिएका घर सीमित र जनसङ्ख्या बढी भएकाले परिवारको सङ्ख्याअनुसार आवासको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको मन्त्री रावलले बताउनुभयो । नियम र कानुनअनुसार जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाइने उल्लेख गर्दै उहाँले कानुनी मापदण्ड पूरा गर्ने परिवारलाई लालपुर्जा उपलब्ध गराइने र मापदण्ड पूरा नभएका परिवारलाई समेत कानुन बमोजिम जग्गाको स्वामित्व प्रदान गर्न सकिने उपाय खोजिने बताउनुभयो ।

लामो समयदेखि बसोबास गर्दै आए पनि जग्गाको स्वामित्व नपाउँदा स्थानीयवासीमा भविष्यप्रति चिन्ता रहेको छ । विसं २०७४ को बाढीपछि त्यसबेला पत्रकार रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पहलमा उक्त बस्ती निर्माण गरिएको थियो ।

बाढीपछि निर्माण गरिएको उक्त बस्तीमा ५२ परिवारका घर रहेको स्थानीयवासीले जानकारी दिएका छन् । परिवारको सङ्ख्या बढ्दै गएपछि घरमा कोठा अपुग भएको र घर तथा जग्गाको आकार बढाउन नसकिएको उनीहरूको गुनासो छ ।

मन्त्री रावलसँगै सप्तरी निर्वाचन क्षेत्र नं ४ का सांसद सीताराम शाह, सांसद खगेन्द्र कर्ण र सांसद बब्लु गुप्तासहितको टोलीले बस्तीको अवलोकन गरेको थियो । यसअघि मन्त्री रावलले हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित कङ्कालिनी भगवती र छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता भगवतीको दर्शन गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>