देश/प्रदेश

जनकपुरधाम–अयोध्या रेल सेवा व्यावसायिक रूपमा सञ्चालन, पहिलो दिन ४०० यात्रुले काटे टिकट

०
Banner

जनकपुरधाम, मंसिर १२ –

धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस रेल सेवा आजदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको छ ।

उद्घाटन भएको एक सातापछि रेल सेवा व्यावसायिक रूपमा सञ्चालनमा आएको नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार अयोध्याबाट आज बिहान जनकपुरधाम आइपुगेको रेलमा जनकपुरधामबाट अयोध्यासम्म यात्रा गर्न ४०० जनाले टिकट लिएका छन् । टिकट काटेका यात्रुलाई बोकेर रेल जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गरेको उहाँले बताउनुभयो ।

रेल सेवा व्यावसायिक रूपमा सञ्चालनमा आएसँगै अब यात्रुले टिकट प्राप्त गर्न सहज हुने विश्वास गरिएको छ । अनलाइनमार्फत टिकट लिन चाहने यात्रुले भारतको टिकट प्रणालीबाट बुकिङ गर्न सक्नेछन् भने नेपालबाटै टिकट लिन चाहने यात्रुका लागि जनकपुरधाम रेल्वे स्टेसनमा टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको प्रबन्ध सञ्चालक पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जनकपुरधामबाट अयोध्यासम्मको यात्राका लागि स्लीपर श्रेणीको रु ५८४, वातानुकूलित तेस्रो श्रेणी इकोनोमीको रु एक हजार ४१६, वातानुकूलित तेस्रो श्रेणीको रु एक हजार ५४४ र वातानुकूलित दोस्रो श्रेणीको रु दुई हजार १७६ भाडा निर्धारण गरिएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका अनुसार रेल प्रत्येक सोमबार बिहान ५ः३० बजे अयोध्याबाट जनकपुरधामका लागि प्रस्थान गर्नेछ भने शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट अयोध्याका लागि छुट्नेछ । निर्धारित तालिका अनुसार नियमित सञ्चालन हुने सेवाले दुवै देशका यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रबन्ध सञ्चालक पराजुलीले यस व्यवस्थाले नेपाली यात्रुलाई टिकट प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार रेलमा यात्रा गर्न नेपाली नागरिकले नेपाल सरकारबाट जारी गरिएका परिचयपत्रमध्ये कुनै एक अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ । यात्रुले नेपाली नागरिकता, राहदानी वा मतदाता परिचयपत्रका आधारमा टिकट लिनसक्ने व्यवस्था गरिएको छ ।

जनकपुरधाम–अयोध्या रेलमा कुल १७ वटा डिब्बा रहनेछन् । जसमा वातानुकूलित दोस्रो श्रेणीका दुई, वातानुकूलित तेस्रो श्रेणीका तीन, तेस्रो इकोनोमी श्रेणीका तीन, स्लीपर श्रेणीका सात र एसएलआरका दुई डिब्बा समावेश छन् । विभिन्न श्रेणीका डिब्बाको व्यवस्था गरिएकाले यात्रुले आफ्नो आवश्यकता र आर्थिक क्षमताअनुसार यात्रा गर्न सक्नेछन् ।

विशेषगरी त्रेतायुगीन रामायण संस्कृतिसँग जोडिएका माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्याबीच धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको यो रेल सेवाले दुवै देशका तीर्थयात्रीलाई सहज आवागमनको अवसर प्रदान गर्ने विश्वास गरिएको छ । करिब ६०४ किलोमिटर दूरी तय गर्ने रेलले भारतको विहार तथा उत्तर प्रदेशका विभिन्न प्रमुख सहर हुँदै जनकपुरधामलाई अयोध्यासँग जोड्नेछ ।

रेलमार्गमा जयनगर, मधुवनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्याधामलगायत स्थानमा व्यावसायिक बिसौनीको व्यवस्था गरिएको प्रबन्ध सञ्चालक पराजुलीले बताउनुभयो । ती स्थानबाट यात्रु चढ्न तथा ओर्लनसक्ने व्यवस्था मिलाइएकाले यस सेवाबाट जनकपुरधाम र अयोध्याका यात्रु मात्रै नभई रेलमार्गमा पर्ने विभिन्न सहरका बासिन्दासमेत लाभान्वित हुने कानुन व्यवसायी राजकुमार महासेठले बताउनुभयो ।

नेपाल र भारतबीच सदियौँदेखि कायम धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउन पनि यस रेल सेवाले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>