Breaking News
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, विरोध प्रदर्शन गर्ने चार जना पक्राउ

विश्वनाथ ठाकुर,
सर्लाही, मंसिर १२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहलाई आफ्नै गृहजिल्ला सर्लाहीमा हिन्दु सम्राट सेनाका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । कालो झण्डा देखाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेपछि हिन्दु सम्राट सेनाले त्यसको विरोध गरेको छ ।
पूर्व–पश्चिम हुलाकी राजमार्ग पदयात्राका क्रममा सर्लाही आइपुगेका सांसद सिंहलाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले आज साँझ मलंगवामा कालो झण्डा देखाउँदै विरोध जनाएका हुन् ।
यसैबीच, हिन्दु सम्राट सेनाका कार्यकर्ताहरूले मलंगवास्थित जिल्ला विकास चोकमा रहेको बाबा स्वामी मठ नजिक सांसद सिंहको पुत्ला दहनसमेत गरेका छन्। उनीहरूले सांसद सिंहका अभिव्यक्ति हिन्दु धर्मविरोधी रहेको आरोप लगाउँदै त्यसप्रति आपत्ति जनाएका थिए ।
कालो झण्डा देखाउने क्रममा प्रहरीले आफ्ना चार जना कार्यकर्तालाई पक्राउ गरेको हिन्दु सम्राट सेनाको नेता कृष्णा यादवको भनाइ छ । आफ्ना कार्यकर्तालाई पक्राउ गरिएको घटनाको विरोध गर्दै उनीहरूले छिटोभन्दा छिटो रिहा गर्न माग गरेको छ ।
हिन्दु सम्राट सेनाका कार्यकर्ताहरूले सांसद सिंहका विगतका अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले आफ्ना कार्यकर्तालाई पक्राउ गरेर विरोध प्रदर्शन गर्ने अधिकारमाथि सरकारले अंकुश लगाउन खोजिएको भन्दै आपत्तिसमेत जनाएका छन् ।
यता, पदयात्राका क्रममा सर्लाही आइपुगेका सांसद सिंह आज राति जिल्ला सदरमुकाम मलंगवामा बस्ने कार्यक्रम रहेको छ । उनको पदयात्रा भोलि बिहान ७ः३० बजेदेखि पुनः सुरु हुने रास्वपा सर्लाहीका जिल्ला सभापति सरोज बानियाँले जानकारी दिए ।
सांसद सिंहको सर्लाही आगमनसँगै कालो झण्डा प्रदर्शन, पुत्ला दहन र चार जना पक्राउ परेको घटनाले जिल्लाको राजनीतिक तथा सामाजिक वृत्तमा चर्चा पाएको छ । पक्राउ परेका व्यक्तिहरूको रिहाइको माग गर्दै हिन्दु सम्राट सेनाले विरोध जनाएपछि घटनाले थप चासो सिर्जना गरेको छ ।
























