चितवन विशेष
देवघाटको माँ कल्याणी गुरुकुलमा श्लोक वाचन प्रतियोगिता, कामना श्रेष्ठ प्रथम

चितवन, मंसिर १२-
तनहुँको देवघाट गाउँपालिका–५ स्थित माँ कल्याणी वैदिक कथा गुरुकुलमा आयोजित श्लोक वाचन प्रतियोगितामा धादिङकी कामना श्रेष्ठ प्रथम भएकी छन्।
प्रतियोगितामा कक्षा १० मा अध्ययनरत श्रेष्ठ प्रथम हुँदा बाजुराकी कक्षा ९ मा अध्ययनरत रेश्मा मल्ल दोस्रो भएकी छन्। त्यसैगरी कक्षा ८ की प्रतीक्षा भण्डारी तेस्रो, कक्षा ७ की शिवानी गौतम चौथो र सुनसरीकी कक्षा ६ मा अध्ययनरत प्रिया गुप्ता पाँचौँ भएकी छन्। प्रतियोगितामा ३५ जना विद्यार्थी सहभागी भएका थिए ।
गुरुकुलले विद्यार्थीको प्रतिभा प्रस्फुटन तथा अतिरिक्त क्षमता विकास गर्ने उद्देश्यले हरेक महिना विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। आगामी पुस महिनामा वनभोज, माघमा खेलकुद, फागुनमा नाटक तथा अभिनय र चैतमा चित्रकला प्रतियोगिता आयोजना गर्ने कार्यक्रम रहेको गुरुकुलकी प्रधानाध्यापक राधिका देवी क्षेत्रीले जानकारी दिइन्।
२०७६ सालमा स्थापना भएको गुरुकुलमा हाल ३४ जना बालिका अध्ययनरत छन्। जाजरकोटदेखि कैलाली र सिन्धुलीसम्मका विभिन्न जिल्लाका बालिका यहाँ आवासीय सुविधासहित अध्ययन गर्दै आएका छन्। गुरुकुलमा सबै समुदायका बालिकाले शिक्षा लिने अवसर पाएका छन्।
गुरुकुलमा कक्षा ८ सम्म सामुदायिक विद्यालयको पाठ्यक्रमअनुसार गणित, नेपाली, सामाजिक र अंग्रेजी विषयसँगै संस्कृत भाषा, संस्कृत व्याकरण तथा नीतिशास्त्रको समेत अध्यापन हुँदै आएको छ। गुरुकुलबाट हालसम्म तीन ब्याचका विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइसकेका छन्। ती तीनै ब्याचका विद्यार्थी शतप्रतिशत उत्तीर्ण भएको गुरुकुलले जनाएको छ।

























