कृषि
प्रतिबन्धित माछा माउरको पालन एवम् विक्री वितरण गरे कडा कारबाही गर्ने चितवन प्रशासनको चेतावनी

भरतपुर, कात्तिक १३-
जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा नेपाल सरकारबाट प्रतिबन्धित माउर माछाको पालन, बिक्रीवितरण नगर्न र नगराउन चेतावनीसहितको सूचना जारी गरेको छ।
जिल्लाका विभिन्न स्थानमा सञ्चालित माछा पोखरीहरूमा प्रतिबन्धित माउर माछा पालिएको गुनासो तथा सूचना आएपछि प्रशासनले यस्तो कडा कदम चालएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद शर्माद्वारा हस्ताक्षरित सूचनामा अनुगमनका क्रममा गम्भीर लापरबाहीहरू भेटिएको उल्लेख गरिएको छ।
अनुगमनबाट जिल्लाका केही पोखरीहरूमा माउर माछा पालिएको पाइनुका साथै माछाको आहारका रूपमा दुर्गन्धित मासु र सडेगलेका अण्डा प्रयोग गर्ने गरिएको पाइएको छ। यस्ता अवाञ्छित गतिविधिले जनस्वास्थ्यमा गम्भीर असर पार्ने भन्दै प्रशासनले माउर माछा नष्ट गर्न, सडेगलेका आहार प्रयोग बन्द गर्न तथा पोखरी र परिसरको सरसफाइमा विशेष ध्यान दिन सम्बन्धित पोखरीधनीहरूलाई निर्देशन दिएको छ।
























