देश/प्रदेश

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

०
Banner

बाँके, मङ्सिर ३-

लुम्बिनी प्रदेशका १० जिल्ला कुष्ठरोगको जोखिममा रहेको पाइएको छ । मधेस प्रदेशपछि लुम्बिनी कुष्ठरोगको दोस्रो उच्च जोखिममा रहेको प्रदेश भएको आइएनएफ नेपालका मेडिकल सर्भिसेज निर्देशक डा अरुणकुमार बुढाले बताउनुभयो । उहाँका अनुसार रूपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासीलगायत जिल्ला कुष्ठरोगको जोखिममा छन् ।

नेपालमा कुष्ठरोग देखिएका १८ जिल्लामध्ये १० जिल्ला बाँकेको साइनिङ अस्पतालको सेवाक्षेत्रभित्र पर्छन् । लुम्बिनी प्रदेशमा बालबालिकामा समेत कुष्ठरोगको सङ्क्रमण देखिएको र त्यसको सङ्ख्या उच्च रहेको उहाँले बताउनुभयो । कुष्ठरोगको पहिचानमा ढिलाइ हुनुमा गरिबी, स्वास्थ्य सेवामा पहुँचको अभाव, सामाजिक भेदभाव र लाञ्छना प्रमुख कारण रहेको डा बुढाको भनाइ छ ।

बाँकेको जानकी गाउँपालिका–मानपुरस्थित साइनिङ अस्पताललाई लुम्बिनी प्रदेशसहित पश्चिम नेपालकै कुष्ठरोग तथा उष्ण उपेक्षित रोगसम्बन्धी सेवाको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने योजना अघि बढाइएको छ । हाल क्षेत्रीय प्रेषण केन्द्रका रूपमा सञ्चालन भइरहेको अस्पताललाई कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका बिरामीको उपचार केन्द्र बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो । यो योजना नेपाल सरकारको शून्य कुष्ठरोग रणनीतिसँग सम्बन्धित रहेको उहाँको भनाइ छ ।

नेपाल सरकारको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८० ८१ / २०८१/८२ मा करिब दुई हजार ५०० नयाँ कुष्ठरोगी पहिचान भएका छन् । तीमध्ये करिब २५ प्रतिशत लुम्बिनी प्रदेशका रहेको आइएनएफ नेपाल, साइनिङ अस्पताल बाँकेले जनाएको छ ।

कुष्ठरोगको जोखिममा रहेका बिरामीलाई लक्षित गरी अस्पतालको सेवा विस्तार गर्न लागिएको हो । करिब दुई करोड ३५ लाख रूपैयाँको लागतमा अस्पतालको अन्तरङ्ग सेवाका लागि भवन निर्माण भइरहेको छ । पाँचवटा वार्डमा २५ जना बिरामी राख्न सकिने भवनमा ह्विलचेयरमैत्री शौचालय, नर्सिङ स्टेसन, उपचार कक्ष र औषधि भण्डारण कक्षलगायत सुविधा रहनेछन् । हालसम्म आइएनएफका पोखरास्थित हरियोखर्क अस्पताल, सुर्खेतस्थित साइनिङ अस्पताल र बाँकेको साइनिङ अस्पतालबाट छ हजार ७९ जनाले निःशुल्क उपचार सेवा लिएका छन् ।

अस्पताललाई निरन्तर सञ्चालन गर्न छाला रोग विशेषज्ञ, थेरापिस्ट, कृत्रिम अङ्ग तथा जुत्ता प्रविधिसम्बन्धी जनशक्ति र दक्ष कर्मचारी आवश्यक रहेको डा बुढाले बताउनुभयो । अपाङ्गता पुनःस्थापना पनि चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँले नसर्ने रोगका कारण हुने अपाङ्गताको व्यवस्थापनसमेत चुनौतीका रूपमा रहेको बताउनुभयो । अस्पतालको सेवा विस्तार र सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारको सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।

आइएनएफका अन्तरराष्ट्रिय कार्यकारी प्रमुख रिचर्ड रिभले नेपालमा कुष्ठरोग नियन्त्रणका लागि ठूलो धनराशि खर्च भइरहेको र त्यसबाट आशातीत उपलब्धि हासिल भएको बताउनुभयो । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुनले प्रदेश सरकार अस्पतालसँग सहकार्य गर्न तत्पर रहेको बताउनुभयो । नेपाल सरकारले सन् २०३० सम्म कुष्ठरोग शून्यमा झार्ने रणनीति लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>