समाचार
नेपालमा अब ट्रायल पास गरेकै दिन लाइसेन्स दिइने,मन्त्रालयले थाल्यो तयारी

काठमाडौं, पुस १३-
सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल)उत्तीर्ण गरेकै दिन परीक्षणकालीन लाइसेन्स दिने व्यवस्था मिलाउने तयारी रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले बताएकी छन्। मंगलबार यातायात व्यवस्था विभागको निरीक्षण गर्दै मन्त्री यादवले भनिन्,‘अब ट्रायल पास भएकै दिन परीक्षणकालीन लाइसेन्स दिने तयारी हाम्रो छ। यसले गर्दा स्मार्ट लाइसेन्सको झन्झट पनि कम हुन्छ।’
हाल विभागले ट्रायल उत्तीर्ण गरी राजश्व बुझाएपछि यस्तो लाइसेन्स वितरण गर्दै आएको छ। तर यो कार्ड पनि वितरणको सुरुआतमै अभाव भएको पाइएको थियो। सेवाग्राहीहरु घण्टौँ लाइन लागेर पनि रित्तै फर्कन बाध्य थिए। स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण लाइसेन्स लिन सेवाग्राही वर्ष दिन कुर्नुपर्ने बाध्यताको विकल्पमा विभागले अस्थायी रूपमा परीक्षणकालीन लाइसेन्स दिन थालेको थियो।
विभागले ट्रायल पास भएर राजश्व बुझाएकै दिन एक वर्षको म्याद राखेर परीक्षणकालीन लाइसेन्स (अस्थायी) दिन थालेको हो। पहिलो चरणमा एकान्तकुनास्थित कार्यालयबाट लाइसेन्स वितरण सुरू गरेर यसलाई देशैभर वितरण गरिने विभागको भनाई छ।

























