राजनीति

कांग्रेसको संस्थागत प्रक्रिया र एकता

Banner

ध्रुवराज पोख्रेल-

नेपाली कांग्रेस राष्ट्रियता, लोकतन्त्र, समाजवाद र मानव अधिकारको प्राप्ति तथा संरक्षणका लागि सात दशकभन्दा लामो समयदेखि संघर्ष गर्दै आएको नेपालको ऐतिहासिक लोकतान्त्रिक पार्टी हो । नेपालको लोकतान्त्रिक आन्दोलनका विभिन्न चरणमा नेपाली कांग्रेसले अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।

पछिल्लो समय भाद्र २३ र २४ गते जेन(जी पुस्ताका युवाहरूको सशक्त विद्रोहपछि बदलिएको राजनीतिक तथा सामाजिक परिवेश अनुसार नेपाली कांग्रेसलाई नयाँ पुस्ताको चाहना, अपेक्षा र भावनालाई आत्मसात् गर्दै रूपान्तरण गर्नु समयको अपरिहार्य माग बनेको थियो । यही आवश्यकतालाई दृष्टिगत गर्दै पार्टीको विधानले निर्देश गरे अनुसार निर्धारित समयमा १५औँ महाधिवेशन सम्पन्न गर्ने वा विधानको धारा (७)२ बमोजिम विशेष महाधिवेशनमार्फत पार्टीलाई वैधानिक र गतिशील दिशामा अघि बढाउने विकल्पमध्ये निर्णय गर्नुपर्ने अवस्था सिर्जना भएको थियो ।

लामो छलफल र बिमर्श पश्चात् विशेष भई नयाँ नेतृत्व समेत चयन भयो । महाधिवेशन सम्पन्न भएसँगै भएको आमनिर्वाचनमा पार्टीको सहभागिता र अप्रत्याशित निर्वाचन परिणामपछि पार्टीभित्र विभिन्न प्रकारका असन्तुष्टि, प्रश्न र गतिविधिहरू देखापर्न थाले । जीवन्त लोकतान्त्रिक पार्टीभित्र विचार, दृष्टिकोण र मतभिन्नता हुनु स्वाभाविक र आवश्यक विषय हो । तर त्यस्ता मतभिन्नताको समाधान पार्टीको विधान, वैधानिक संरचना, संस्थागत निर्णय प्रक्रिया र लोकतान्त्रिक संवादमार्फत खोजिनुपर्नेमा समानान्तर गतिविधि सञ्चालन गर्ने, पार्टीको आधिकारिक संरचनाभन्दा बाहिरबाट गुटगत भेला आयोजना गर्ने तथा नेतृत्वको अपमान र हुर्मत लिने प्रयास र प्रवृत्तिले किमार्थ लोकतन्त्र र पार्टीको हित हुन सक्दैन ।

पछिल्ला दिनहरुमा संवाद र सहकार्यको संस्कृतिको बाटो छोडेर नेपाली कांग्रेसका संस्थापन इतर पक्षबाट आह्वान गरिएको भनिएको राष्ट्रिय भेलाप्रति पार्टीका नेता तथा आम सदस्यहरू गम्भीर भएका छन। आफ्नो जीवन र जवानी मुलुक,लोकतन्त्र र नेपाली कांग्रेसमा समर्पण गर्नुभएका अग्रज नेतृत्वबाट नै पार्टीको आधिकारिक संरचना, विधान र संस्थागत प्रक्रियाभन्दा बाहिरबाट राष्ट्रिय भेलाका नाममा गरिने गतिविधिले पार्टीभित्र अनावश्यक समानान्तर संरचना, गुटगत ध्रुवीकरण र अविश्वास बढाउने खतरा रहन्छ । यस्ता गतिविधिले पार्टीलाई थप कमजोर र विभाजित बनाउन सक्ने भय प्रति सम्पूर्ण नेता, पार्टी सदस्य तथा शुभेच्छुकहरू सचेत रहन आवश्यक छ ।

आज नेपाली कांग्रेसलाई एकअर्काविरुद्ध शक्ति प्रदर्शन गर्ने होइन, संगठनलाई एकताबद्ध, सुदृढ र गतिशील बनाउँदै जनतासँगको सम्बन्ध थप मजबुत बनाउनु पर्नेआवश्यकता छ । नेपाली जनताको लामो त्याग, संघर्ष र बलिदानबाट प्राप्त नेपालको संविधानको रक्षा गर्दै लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण, सुशासन,प्रभावकारी सेवा प्रवाह र मुलुकको समृद्धिको कार्यभार पूरा गर्न पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्दछ । विशेषगरी पुरानो पुस्ताको अनुभवका आधारमा नयाँ पुस्ताको भावना र अपेक्षालाई आत्मसात् गर्दै युवालाई पार्टीको मूलधारमा जोड्ने र नेपाली कांग्रेसलाई समयअनुकूल रूपान्तरण गर्ने जिम्मेवारी आज अझ बढी महत्वपूर्ण बनेको छ ।

हामी कुनै व्यक्ति, समूह वा पक्षप्रतिको पूर्वाग्रहबाट प्रेरितहुन जरुरी छैन । पार्टीभित्र उठेका असन्तुष्टि, प्रश्न, आलोचना र फरक मतलाई सम्मान गर्दै तिनको समाधान संवाद, सहमति, सहकार्य र लोकतान्त्रिक विधिबाट खोजिनुपर्छ भन्ने दृढ मान्यता घनिभूत छ । तर पार्टीको विधि, विधान, परम्परा र संस्थागत निर्णय प्रक्रियालाई कमजोर पार्ने गरी हुने कुनै पनि अनधिकृत तथा गुटगत गतिविधिले नेपाली कांग्रेसको बृहत्तर हित गर्न सक्दैन । त्यसैले त्यस्ता गतिविधिबाट सचेतन रहदै पार्टीको संस्थागत एकता तथा अनुशासन कायम राख्न सम्पूर्ण नेता, सदस्य, शुभेच्छुक तथा आम साथीहरूले फेरी एकपटक हस्तक्षेपकारी भुमिका निर्वाह गर्नुपर्ने समय आएको छ । नेपाली कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा सीमित छैन ।

यसको वास्तविक शक्ति लाखौं नेपालीको लोकतान्त्रिक आस्था, विश्वास, संघर्ष र पार्टीको संगठनात्मक एकतामा निहित छ । अतः सम्पूर्ण नेता तथा पार्टी सदस्य साथीहरु आपसी अविश्वास र ध्रुवीकरण अन्त्य गर्दै निर्धारित समयमा हुने १५ औँ महाधिवेशनको तयारीमा एकताबद्ध भएर जुट्न र संगठनलाई जनतासँग जोडी आगामी राजनीतिक चुनौतीको सामना गर्न सक्षम,जिम्मेवार तथा जनमुखी नेपाली कांग्रेस निर्माणमा जुट्न जरुरी देखिएको छ।
(लेखक नेपाली कांग्रेस चितवनका सचिव हुनुहुन्छ)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>