देश/प्रदेश

झापामा किसानलाई मलको अभाव नहुने

Banner

भद्रपुर (झापा), साउन २९-

कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको छ । हालसम्म जिल्लामा ३२ हजार ९९१ बोरा युरिया र २६ हजार २६७ बोरा डिएपी किसानलाई वितरण गरिएको छ ।

त्यस्तै, पोटास ३७.०५० मेट्रिक टन (७४१ बोरा) वितरण गरिएको कृषि सामग्री कम्पनी लिमिटेडको झापा कार्यालयका प्रमुख दीपककुमार राजवंशीले बताउनुभयो । धान रोपाइँको मुख्य चरण लगभग सकिएकाले अब किसानले आवश्यकताअनुसार मल प्रयोग गर्ने समय सुरु भएको छ । उहाँका अनुसार मल मौज्दात रहेकाले किसानले चिन्ता गर्नुपर्ने अवस्था छैन । कार्यालयमा हाल युरिया १३० मेट्रिक टन र डिएपी ५४ मेट्रिक टन मौज्दात रहेको छ ।

धान रोपाइँपछि धानको वृद्धि र उत्पादनका लागि विशेषगरी युरियालगायतका मल आवश्यक पर्ने भएकाले केन्द्रबाट दोस्रो चरणअन्तर्गत आवश्यक परिमाणमा मल आपूर्ति गर्ने प्रक्रिया सुरु भइसकेको प्रमुख राजवंशीले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षको यही अवधिमा भएको मलको खपतलाई आधार मानेर यस वर्ष पनि आवश्यकताको मूल्याङ्कन गरी आपूर्ति व्यवस्थापन गरिनेछ ।

“थप मल आउने भएकाले किसानले मलको अभाव व्यहोर्नुपर्ने अवस्था आउँदैन”, प्रमुख राजवंशीले भन्नुभयो । कार्यालयले झापाका किसानलाई मात्रै नभई पहाडी जिल्लातर्फ पनि मल वितरण गर्दै आएको छ । कृषि सामग्री कम्पनी लिमिटेडको झापा कार्यालयबाट इलाम, पाँचथर र ताप्लेजुङका साथै तेह्रथुमको एउटा स्थानीय तहसम्म रासायनिक मल आपूर्ति तथा वितरण हुँदै आएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>