राजनीति
२१औँ शताब्दीका संकटको वास्तविक विकल्प समाजवाद हुन सक्छ :प्रदीप ज्ञवाली

काठमाडौं ,कात्तिक २२-
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २१औँ शताब्दीका आर्थिक, सामाजिक तथा राजनीतिक संकटको वास्तविक विकल्प समाजवाद हुन सक्ने बताएका छन् ।
साइप्रस कम्युनिस्ट पार्टी (एकेल) स्थापनाको १००औँ वार्षिकोत्सवका अवसरमा नोभेम्बर ७ मा साइप्रसको निकोसियामा आयोजित अन्तर्राष्ट्रिय संगोष्ठीलाई सम्बोधन गर्दै उनले समकालीन पुँजीवादले सिर्जना गरेको असमानता, गरिबी र सामाजिक विभाजन अन्त्य गर्न समाजवादी विकल्प आवश्यक रहेको बताएका हुन् ।
ज्ञवालीले विश्वमा सम्पत्ति, वैज्ञानिक ज्ञान र उत्पादन क्षमता अभूतपूर्व रूपमा बढे पनि त्यसको लाभ सीमित धनाढ्य वर्गमा केन्द्रित भएको उल्लेख गरे । करिब एक अर्ब मानिस चरम गरिबीमा रहनु, श्रमिकले रोजगारीको असुरक्षा र न्यून ज्यालाको सामना गर्नु तथा शिक्षा, स्वास्थ्य र आवासजस्ता आधारभूत आवश्यकता बजारको वस्तु बन्नु पुँजीवादी व्यवस्थाका गम्भीर समस्या भएको उनको भनाइ थियो ।
उनले समाजवादलाई विगतका संघर्षको स्मृतिमा सीमित नराखी शोषण र असमानताविरुद्धको ऐतिहासिक विकल्पका रूपमा अघि बढाउनुपर्ने बताए । माक्र्सवादलाई जड सिद्धान्तका रूपमा नभई प्रत्येक देशको इतिहास, संस्कृति र परिस्थितिअनुसार सिर्जनात्मक ढंगले प्रयोग गर्नुपर्ने उनको धारणा थियो ।
कृत्रिम बौद्धिकता, रोबोटिक्स र डिजिटल प्रविधिमा भएको विकासले मानव कल्याणमा योगदान पु¥याउन सक्ने भए पनि कर्पोरेट नियन्त्रण बढ्दा रोजगारी विस्थापन, निगरानी विस्तार र सम्पत्तिको केन्द्रीकरणको जोखिम रहेको उनले औँल्याए ।
नेपालको राजनीतिक अनुभव प्रस्तुत गर्दै ज्ञवालीले एमालेले माक्र्सवाद र जनताको बहुदलीय जनवादलाई नेपालको विशिष्ट परिस्थितिअनुसार अवलम्बन गरेको बताए । राजनीतिक बहुलवाद, संवैधानिक शासन र सामाजिक न्यायलाई एकीकृत गर्ने जबज लोकतन्त्र र सामाजिक रूपान्तरणको आधार भएको उनको भनाइ थियो ।
उनले लोकतान्त्रिक संस्थाहरूको विनाशलाई क्रान्ति मान्न नसकिने उल्लेख गर्दै राजनीतिक परिवर्तनको माध्यम हिंसा नभई शान्तिपूर्ण लोकतान्त्रिक प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए ।
विश्वव्यापी वामपन्थी आन्दोलनबीच शान्ति, समानता, श्रमिक अधिकार, सामाजिक सुरक्षा र जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय ऐक्यबद्धता आवश्यक रहेको पनि ज्ञवालीले बताए ।
























