राजनीति
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अन्ताल्यामा

काठमाडौं,कात्तिक २२-
परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीएको आन्ताल्यामा पुग्नुभएको छ ।
नोभेम्बर ९ देखि २० (कात्तिक २३ देखि मङ्सिर ४ गते) सम्म आयोजना हुने उक्त सम्मेलनको उद्घाटनसत्रलाई परराष्ट्रमन्त्री खनालले नोभेम्बर ९ (कात्तिक २३गते) मा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उहाँले नोभेम्बर ११ र १२ (कात्तिक २५ र २६ गते) आयोजना हुने नेताहरूको शिखर सम्मेलनमा सहभागिता जनाउनुहुनेछ ।
सम्मेलनका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल, ताजिकिस्तान, कीर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने ‘एड्भान्सिङ द माउन्टेन एजेन्डा: ग्लेसियर, क्रायोस्फियर एन्ड रिसिलियन्स अन्डर ओभरसुट, सियर्ड रेस्पोन्सिबिलिटी एन्ड सस्टेनेबल फाइनान्सिङ’ विषयक उच्चस्तरीय कार्यक्रममा पनि सहभागिता जनाउनुहुनेछ ।
यसका अतिरिक्त परराष्ट्रमन्त्री खनालले सम्मेलनका विभिन्न उच्चस्तरीय तथा साइड इभेन्टमा सहभागी हुनुका साथै समकक्षी मन्त्रीहरू र अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खनाल यही नोभेम्बर १४ (कात्तिक २८ गते) स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
























