देश/प्रदेश
पत्रकार महासंघले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

काठमाडौं, साउन २८-
जनआस्थाका सम्पादक किशोर श्रेष्ठको गिरफ्तारीलाई लिएर नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको तत्काल राजीनामा माग गरेकी छन्।
बिहीबार जनआस्थाका सम्पादक श्रेष्ठको बिनाशर्त रिहाइ र जफत गरिएका सञ्चार सामग्री फिर्ताको माग गर्दै आयोजित विरोध कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले सरकारले संविधान र लोकतान्त्रिक मूल्यमान्यता मिचेकाले प्रधानमन्त्री र गृहमन्त्रीलाई पदमा बस्ने नैतिक एवं कानुनी अधिकार नरहेको दाबी गरिन्।
‘अदालतले समेत समाचारको स्रोत खोतल्न नपाउने संवैधानिक र अन्तर्राष्ट्रिय मान्यता छ,’ अध्यक्ष शर्माले भनिन्, ‘तर सरकारले जनआस्थाको कार्यालयमै पुगेर कम्प्युटर, सिपिउ र पत्रकारका सञ्चार साधन जफत गरी स्रोत पत्ता लगाउने गैरकानुनी प्रयास गरेको छ।’
उनले समाचारप्रति कुनै चित्तबुझाइ नभए प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्ने कानुनी बाटो छँदाछदै प्रहरी प्रशासन प्रयोग गरेर सञ्चारमाध्यममाथि धरपकड गरिएको भन्दै घोर भर्त्सना गरिन्।
सञ्चारकर्मी तथा सञ्चारगृहमाथिको हस्तक्षेप तत्काल नरोकिए देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिँदै महासंघले यस कदमविरुद्ध कानुनी र सडक दुवै माध्यमबाट खबरदारी जारी राख्ने जनाएको छ।

























