नवलपुर

कावासोतीमा कभर्डहल निर्माण अन्तिम चरणमा

Banner

ज्ञानु पंगेनी

नवलपुर, माघ २७-

योङ स्टार क्लब कावासोतीद्वारा निर्माण गरिएको कभर्डहल निर्माण अन्तिम चरणमा पुगेको छ ।

कावासोती नगरपालिका–२ मा निर्माण गरिएको कभर्डहल निर्माणको काम ८० प्रतिशत सम्पन्न भइसकेको छ । अब प्याराफिट निर्माण, रंगरोगन र ट्वाइलेट बाथरुम निर्माण गर्न बाँकी रहेको योङ स्टार क्लब कावासोतीका अध्यक्ष इन्द्र सिग्देलले जानकारी दिए । नौ वर्ष अघि नै कभर्डहल निर्माण सुरु गरेको भए पनि पछिल्लो चार वर्ष यता कामले तीव्रता पाएको हो । बजेट अभावकै कारण निर्माण हुन नसकेको कभर्डहल स्थानीय सरकार र केन्द्र सरकारबाट बजेट प्राप्त गरेपछि कामले गति लिएको अध्यक्ष सिग्देलले बताए ।

कावासोती नगरपालिकाले २५ लाख , राष्ट्रिय खेलकुद परिषद्ले १० लाख र पुर्ननिर्माण मन्त्रालयले पाँच लाख रुपैयाँ बजेट उपलब्ध गराएको अध्यक्ष सिग्देलले जानकारी दिए । क्लबको सात लाख र अन्य विविध खर्चसहित अहिलेसम्म करिब ५० लाख रुपैयाँ कभर्डहल निर्माणमा खर्च भएको सिग्देलले बताए । क्लबले सात लाख रुपैयाँ बराबरको सामग्री खरिद गरेको तर बजेट अभावमा तिर्न बाँकी नै रहेको उनले जानकारी दिए । विभिन्न दाताहरुले सहयोग गर्ने जनाएको भए पनि सहयोग नपाउँदा तिर्नुपर्ने रकम तिर्न नसकेको उनले बताए । अध्यक्ष सिग्दलेका अनुसार काम पूरा गर्न अझै करिब एक करोड रुपैयाँको आवश्यकता पर्छ । बजेटका लागि प्रदेश सरकारसँग ताकेता गरिरहेको र आउँदो फागुनभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको उनले जानकारी दिए । कभर्डहल ८० फिट लम्बाई , ५० फिट चौडाइ र ३२ फिट अग्लो र ५०० जना अट्ने क्षमताको छ ।

नवलपरासी जिल्ला खेल र खेलाडीको उर्वर भूमि मानिन्छ । खेल क्षेत्रको विकास र खेलाडीको मनोबल उच्च राख्न खेल खेल्न आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न अत्यावश्यक छ । कभर्डहल निर्माणले ब्याडमिन्टन, कराँते, तेक्वान्दो, बास्केटबल, डोजाङलगायतका इन्डोर खेलहरुको विकासमा टेवा पु¥याउने आशा लिएको सिग्देलको भनाइ छ । निर्माण सम्पन्न भइसकेपछि यहाँ खेलाडीहरु दैनिक रुपमा आएर सिक्न पाउने र समय समयमा खेलकुद प्रतियोगिता सञ्चालन गरेर राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्न मद्दत गर्ने विश्वास लिइएको उनी बताउँछन् । यस्तै कभर्डहल कुनै प्राकृतिक बिपत्तीका बेलामा समेत काम लाग्ने र सभा समारोहका लागि पनि प्रयोग गर्न सकिने सिग्देल बताउँछन् ।

जिल्लाको सेन्टर र सदरमुकाम भएको ठाउँमा बनेको कभर्डहलले खेल क्षेत्रको विकासमा धेरै महत्व राख्ने यहाँका खेलाडीहरु बताउछन् । जिल्लामा गैँडाकोट नगरपालिकामा एउटा कभर्डहल निर्माण सम्पन्न भएको छ भने मध्यबिन्दु नगरपालिकाको चोरमारा र अरुणखोलामा निर्मार्णाधीन अवस्थामा रहेका छन् । यस्तै कावासोती नगरपालिका–३ अठ्ठाइस बिघामा पनि कभर्डहल निर्माण गर्न २८ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>