अर्थ
बराह सहकारी ठगीका मुख्य योजनाकार पक्राउ, ५ अर्ब ८८ करोड बिगो हिनामिनाको आरोप

काठमाडौं , मंसिर २-
बराह बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणका मुख्य योजनाकार भनिएका शिवकुमार विश्वकर्मा (लामिछाने) पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो।
गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत विश्वकर्मा पक्राउ परेको जानकारी दिएका हुन्। उनले बराह सहकारीमा ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी बिगो हिनामिना भएको उल्लेख गर्दै मुख्य योजनाकारलाई कानुनी कठघरामा उभ्याउन सफल भएको बताएका छन्।
गृहमन्त्री गुरुङले करिब छ वर्षअघि धरानमा ‘सेभ घोपा’ अभियान सञ्चालनका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध आवाज उठाउँदा पूर्वका बचतकर्ताले भोगेको पीडा आफूले सुनेको र त्यसले निरन्तर झकझकाइरहेको उल्लेख गरेका छन्।
अभियन्ताका रूपमा रहँदा तथा जेनजी आन्दोलनपछि पनि तत्काल न्याय दिलाउन नसके पनि गृहमन्त्रीको जिम्मेवारी सम्हालेकै दिनदेखि बचतकर्तालाई न्याय दिलाउन खोजी तीव्र पारिएको उनको भनाइ छ।
उनले सहकारीको रकम हिनामिना प्रकरणमा संलग्न अन्य दोषीहरूको पनि खोजी गरी कानुनी कारबाहीको प्रक्रिया तीव्र बनाइने बताएका छन्।
























