Breaking News

नारायणगढ–बुटवल सडकः गैडाकोट क्षेत्रको काम तत्काल सुरु गर्न मेयर पौडेलको आग्रह

Banner

गैडाकोट,असार १-

गैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत गैडाकोट खण्डको काम तत्काल सुरु गर्न आग्रह गरेका छन् । आयोजना पूर्वी खण्डका प्रमुख सुजन अधिकारीलाई टेलिफोन मार्फत उनले तत्काल काम अघि बढाउन आग्रह गर्दै आवश्यक समन्वय नगरपालिकाले गर्ने बताए । उनले भने, ‘काम तिब्र रुपमा गर्नुहोस्, आवश्यक जनशक्तिको व्यवस्थापन र अन्य कुरामा नगरपालिकाले सहयोग गर्छ ।’ सरकारले विकास निर्माणका आयोजनाको काम धमाधम गर्ने निर्णय गरेकाले यो आयोजनाको काम पनि तिब्र गतिमा हुनुपर्ने उनले बताए । गैडाकोट नगरपालिकाभित्र सडक निर्माणको काममा समस्या नहोस भनेर निरन्तर समन्वय र सहयोग गरिरहेको पौडेलले बताए ।

सरकारले ठूला आयोजनाहरुको काम अघि बढाउन आवश्यक समन्वय गरेको बताइरहे पनि नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम अघि बढ्न सकेको छैन । गैडाकोट खण्डका केही पुलहरुको काम भइरहेपनि कामदार भने थोरै छन् । आयोजना पूर्वी खण्डका प्रमुख अधिकारीले दिएको जानकारी अनुसार आफूहरुले काम अघि बढाउन ठेकेदारलाई आवश्यक समन्वय गरे पनि काम सहज रुपमा अघि बढ्न सकेको छैन ।

आयोजनाको पूर्वी खण्डको भेडाबारीमा सामान्य कल्भर्टको काममा ठेकेदार भुलिरहेको देखिन्छ । अन्यत्र खासै काम भएको छैन । कामदार पनि निकै कम छन् । ठेकेदारले कामको गति बढाउने रुची देखाएको छैन । अति नै न्यून जनशक्ति राखेर अति सामान्य काम मात्रैं गरिरहेको छ ।

काम पुरै बन्द गरेको अवस्था पनि छैन, गति पक्डिएको अवस्था पनि छैन, आयोजना प्रमुख अधिकारीले भने, कामदार र सामाग्रीको अभाव देखाएर काम ढिला भएको छ । आफूहरुले कामदारको व्यवस्थापन र सामाग्रीका संकलनका लागि निरन्तर प्रयास गरिरहेको तर ठेकेदारले खास रुची नदेखाउँदा समस्या भएको अधिकारीले बताए ।

कामको अवस्थाका बारेमा विभागसमेत जानकारी गराइएको छ । लकडाउनका कारणले काम गर्न नपाएको गुनासो विगतमा ठेकेदारबाट आएको भए पनि अहिले सरकारले काम सुरु गर्न आवश्यक प्रवन्ध गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको छ । ११३ किलोमिटर लामो नारायणगढदेखि बुटवलसम्मको सडक विस्तारको काम निकै सुस्त छ । गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर खण्डलाई ‘प्याकेज«१’ र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई ‘प्याकेज–२’ बनाएर ठेक्का लगाइएको थियो ।

दुबै खण्डको निर्माणको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डमा नै काम खासै नभएकोले पश्चिम खण्डमा झनै काम भएको छैन । यस्तै अवस्था रहे असोज, कार्तिकअघि कामले गति लिन नसक्ने अवस्था आएको आयोजनाको पूर्वी खण्डका प्रमुख अधिकारीले बताए ।

काम गर्ने कामदारहरुलाई क्वारेन्टाइनमा राखेर काम गराउन सकिने भए पनि ठेकेदार कम्पनीले रुची देखाएको छैन । २०७५ पुषमा ठेक्का सम्झौता भएर सोही बर्ष चैत्र ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सडक बिस्तारको शिलान्यास बुटलबमा गरेका थिए । एसियाली विकास बैंकको ऋण सहयोग बिस्तार गर्न लागिएको सडकको लागत १६ अर्ब ९९ करोड ५२ लाख रूपैयाँ छ ।

२०८० साउन २२ गतेसम्ममा (साँढे तीन वर्ष) निर्माण सकिसक्नुपर्ने सडकको गैंडाकोट–दाउन्नेखण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवलखण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>