नवलपुर

पश्चिम रुकुमको सोती घटनाका दोषीलाई कारबाहीको माग

Banner

ज्ञानु पंगेनी

नवलपुर , जेठ २६-

अन्तरजातीय विवाहको निहुँमा पश्चिम रुकुमको चौरजहारी नगरपालिका सोती गाउँमा भएको मानवीय नरसंहारमा संलग्न दोषीलाई कडा कारवाही गर्न संयुक्त दलित समिति बौदीकाली र गाउँपालिकामा कार्यरत सम्पूर्ण दलित उत्पीडित वर्गका संघसंस्थाहरुले माग गरेका छन् ।

बौदीकाली गाउँपालिका अध्यक्ष दुर्गाबहादुर राना मार्फत् नेपाल सरकारलाई ध्यानाकर्षण समेत गराएका छन् । दलित उत्पीडित वर्ग उत्थान समिति बौदीकाली गाउँपालिका अध्यक्ष विष्णुबहादुर बस्याल, दलित उत्थान मञ्च बौदीकाली ४ रुचाङका उपाध्यक्ष गमबहादुर विश्वकर्मा, विश्वकर्मा समाज बौदीकाली–२ डेढगाउँका अध्यक्ष वीरबहादुर विश्वकर्मा, दलित जातीय मूक्ति समाज बौदीकाली गाउँपालिका विभाग प्रमुख पदमबहादुर विश्वकर्मा र नेपाल दलित संघ बौदीकाली गाउँपालिका प्रतिनिधि ताराबहादुर विकद्वारा हस्ताक्षर गरी संयुक्तरुपमा बुझाइएको ज्ञापनपत्रमा जेठ १० गते भएको उक्त अमानविय घटनाप्रति दुःख व्यक्त गर्दै सो घटनाप्रति हाल पीडित पक्षलाई नै दोष लगाउने किसिमले विभिन्न टिकाटिप्पणी हुँदै आएकाले उक्त घटना चरम जातीय विभेदकारी मानसिकताको उपज रहेकोमा कुनै शंका नरहेको उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा नवराज विक र उनका साथीलाई अन्य कारबाहीका सयौं उपाय हुँदाहुँदै पनि सिङ्गो गाउँ नै उठेर किशोरहरु माथि अत्यन्तै क्रुर, बर्वर र निदर्यी ढंगले गरिएको मानवीय नरसंहारका अपराधिलाई हदैसम्मको कारबाही गर्न र यस घटनालाई राजनीतिक रुप दिई अपराधिलाई उन्मुक्ती दिने प्रयास नगर्न माग गरिएको छ ।

यसैगरी ज्ञापनपत्रमा ‘समाज विकास र रुपान्तरणका लागि स्वतन्त्रतासहित समतामूलक समाज सबैभन्दा पहिलो सर्त हो । सबै जाति , भाषा , धर्म संस्कृतिका समुदायको अभिभावकको रुपमा राज्यले जातीवादी घटनालाई पूर्णरुपले निरुत्साहित र अन्त्य गर्नु पर्छ । समतामूलक समाज र त्यस्तो समाजमा रमाइरहेका जनताले नै राज्यको सार्थकता दर्शाउने भएको हुँदा यस्ता जघन्य मानवीय नरसंहारमा अपराधिहरुले कुनै पनि अवस्थामा छुट पाउनु हुँदैन । ’

मानव समुदायको अत्यन्तै लज्जाजनक पीडाबोध हुने, घिनलाग्दो जातीय विभेदलाई निर्मूल पार्न सिंगो मानव समुदायसहित सिंगो राज्य एकजुट भएर लाग्न समेत विज्ञप्ति मार्फत् आव्हान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>