Breaking News
गैँडाकोट नगरपालिकामा ४१ जना क्वारेन्टिनमा,अलपत्र परेका नगरवासीको उद्धार

गैंडाकोट,जेठ १७-
गैंँडाकोट नगरपालिकामा छिमेकी मुलुक भारतबाट आएका ४१ जना नगरवासी क्वारेन्टिनमा रहेका छन् । कोरोना सङ«क्रमणका कारण रोजगारीका सिलसिलामा विदेश गएका फर्कन थालेसँंगै आएकालाई क्वारेन्टिनमा राख्न शुरु गरिएको हो ।
नगरपालिकाभित्र रहेका पाँचवटा विद्यालय र एउटा कभर्डहलमा क्वारेन्टिन बनाइएको छ । ती क्वारेन्टिनमा उनीहरुलाई राखिएको नगरपालिकाका प्रमुख छत्रराज पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार नगरपालिकाको कार्यपालिका बैठकले क्वारेन्टिन व्यवस्थापन समितिले गठन गरी क्वारेन्टिन निर्माण गरिएको हो ।
नेपाल राष्ट्रिय शम्शेर आदर्श मावि, एसपिएम कलेज, नारायणी मावि, मुकुन्दशेन कभर्डहल भेडाबारी, जनशक्ति आधारभूत विद्यालय र लक्ष्मी मावि अमरापुरीलाई क्वारेन्टिनका रुपमा सञ्चालन गरिएको पौडेलले बताउनुभयो । निर्माण गरिएका सबै क्वारेन्टिनमा २०–२० जना राख्न सक्ने क्षमता रहेको छ ।
विभिन्न विद्यालयमा सञ्चालन गरिने क्वारेन्टिनको क्षमताले धान्न नसकेमा होटलमा राख्नका लागि छलफल शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले जानकारी दिनुभयो । रोजगारीका सिलसिलामा विदेशमा रहेका नगरवासी फर्कने क्रम शुरु भएपछि उनीहरुको व्यवस्थापनका लागि व्यवसायीसँंग छलफल थालिएको उहाँको भनाइ छ ।
यसैबीच नगरपालिकाले भारतबाट सिमानामा आएर अलपत्र परेका नगरवासीलाई उद्धार गरिरहेको छ । उद्धारका लागि नगरपालिकाले सवारी साधन पठाउने गरेको छ । सिमानामा आएर अलपत्र परेका नगरवासीलाई सम्पर्कमा आउनसमेत आग्रह गरेको छ ।
























