नवलपुर

खाद्य अधिकारसम्बन्धी कार्यविधि छिट्टै बनाउँछौ: उपप्रमुख मर्दनिया

Banner

कावासोती, पुस २४-

कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनिया थारुले कावासोती नगरपालिकामा छिट्टै खाद्य अधिकार र खाद्य सुरक्षासँगसम्बन्धी कार्यविधि निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धि ऐन–२०७५ लाई कार्यान्वयन गर्न नगरपालिकाले खाद्य सुरक्षा समिति निर्माण गरेर काम गर्नुपर्ने भए पनि विभिन्न कारणबस नगरपालिकाले समिति निर्माण गर्न नसकेको भन्दै उपप्रमुख मर्दनियाले खाद्य अधिकार र खाद्य सुरक्षासँग सम्बन्धी कार्यविधि निर्माण गरेर छिट्टै काम अघि बढाउने बताए ।  खाद्य अधिकारलाई मौलिक हकमा नै सुनिश्चित गरिएकाले नगरभित्रका कोही पनि नागरिक भोकै बस्न नपरोस् र गुणस्तरीय खाद्य वस्तुको उपभोग तथा यहाँको कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गरेर खाद्य सुरक्षा कायम गर्न उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता समेत उनले जनाए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा बिहीबार कावासोती नगरपालिकामा भएको खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपप्रमुख मर्दनियाले उत्पादनलाई वृद्धि गर्नकै लागि कावासोतीमा उत्पादन हुने कृषिजन्य वस्तुहरु माहुरीको कार्यविधि र माछाको कार्यविधि बनाएको जानकारी दिँदै यहाँ उत्पादन हुने वस्तुहरुको प्राथमिकीकरण गरी पकेट क्षेत्रका रुपमा विकास गर्ने योजना नगरपालिकाले लिएको बताएका थिए । स्थानीय सरकारले हरेक नागरिकको खाद्य अधिकारको संरक्षण गर्नुपर्ने भएकाले कोही पनि भोकै बस्न नपरोस् भन्न नीतिगत रुपमै काम गर्न प्रतिबद्ध रहेको बताए । यस्तै उनले नगरपालिकाले खाद्य वस्तुहरुको गुणस्तरियता कायम राखेर उपभोक्तालाई सचेत बनाउँदै व्यवसायीहरुलाई पनि सजग बनाउन बजार अनुगमन समय समयमा गरिरहेको भन्दै आगामी दिनमा सरोकारवालाहरुसँग समन्वय गरी अनुगमनलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष लक्ष्मीप्रसाद पौडेलले वडास्तरबाट समेत आगामी दिनमा खाद्य सुरक्षाका लागि योजना बनाएर बजेट विनियोजन गर्ने बताए । अहिलेको समय विकास गर्ने समय भएकाले कृषि क्षेत्रको विकास गर्न सके उत्पादनमा वृद्धि हुने र उत्पादन वृद्धिले नागरिकको खाद्य अधिकार प्रत्याभूत गराउन सहज हुने भएकाले कृषक लक्षित कार्यक्रमलाई नगर र वडाले समेत प्राथमिकतामा राखेको पौडेलको भनाइ थियो । सरोकारवाला र आमनागरिकहरुले समेतले स्थानीय सरकारका राम्रो काममा सहयोग गरेमा खाद्य मात्र नभई हरेक क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धन हुने भन्दै पौडेलले नगरपालिकाले ल्याएका नीति नियमहरुलाई आम नागरिकहरुले पनि पालना गर्नुपर्नेमा जोड दिए ।

कृषि बजार थोक व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ बस्याल, उपभोक्ता हित संरक्षण मञ्च कावासोतीका अध्यक्ष डोरमान गिरी, नवलपुर उद्योग वाणिज्य संघका सदस्य राजेन्द्रप्रसाद पाण्डे लगायतले कार्यक्रममा कावासोती नगरपालिकामा कृषि र पशु प्राविधिकको अभाव हुँदा कृषकहरु मारमा परेको गुनासो गरे । प्राविधिक अभावले कृषकलाई आवश्यक ज्ञान सीपको जानकारी नहुँदा विषादीको प्रयोग कसरी गर्ने ? भन्ने जानकारी किसानले नपाउँदा एकातिर स्वास्थ्यमा असर पर्ने अर्कोतिर उत्पादनमा असर पर्ने र अन्य विभिन्न समस्याबाट किसान गुज्रिरहनु परेको गुनासो व्यक्त गरेका थिए । भने अब अर्गानिक कृषि उत्पादनमा जोड दिने खालका कार्यक्रम नगर र वडाबाट ल्याउन मागसमेत गरे । कृषि क्षेत्रमा बजेट विनियोजन गर्दा कन्जुस्याई नगर्न समेत सुझाव दिए । यस्तै किसान र व्यापारीबीचमा मध्यस्तकर्ताको रुपमा काम गर्ने बिचौलियाको बिगबिगीको अन्त्य गर्न लाग्नुपर्ने नभए किसानले उत्पादित वस्तुको उचित मूल्य नपाएर पलायन हुने अवस्था सृजना हुने दुःखसमेत व्यक्त गरे ।

यस्तै नगरभित्रका दुरदराजमा रहेका कतिपय गरिब निम्न वर्गका मानिसहरुले दुई छाक राम्ररी खान नपाएको अवस्था समेत रहेकाले त्यस्ता समुदायलाई लक्षित गरेर आयआर्जनमूलक कार्यक्रम लैजानु पर्ने समेत उनीहरुको जोड थियो । कार्यक्रममा कावासोती नगरपालिका कृषि तथा पशु शाखा प्रमुख डा. टेकराज पौडेलले कावासोतीमा कृषि र पशुको अवस्था कस्तो छ त ? भन्ने बारेमा प्रस्तुतीकरण गरेका थिए । कावासोती नगरपालिकाले वडासमेत गरी निःशर्त एक करोड २० लाख रुपैयाँ र सशर्त १६ लाख ४५ हजार रुपैयाँ बजेट कृषि कार्यक्रमका लागि छुट्टाएको जानकारी दिए । यस्तै गैरव्यवसायिक किसानका लागि पशु भ्याक्सिन, व्यवसायिक माछा पालक र मौरी पालक किसानका लागि ५० प्रतिशत अनुदानमा आवश्यक सामग्री र उपकरण प्रदान, दूध उत्पादक किसानका लागि उत्पादन प्रतिफलका आधारमा प्रति लिटर एक रुपैयाँ नगद अनुदान जस्ता कार्यक्रम लागू गरेको जानकारी गराए ।

यस्तै पौडेलले कावासोती नगरपालिकामा खाद्य सुरक्षाको दृष्टिकोणले मासुजन्य पदार्थ बाहेक अन्य खाद्य उत्पादनहरु माग धान्ने गरेर हुने गरेको जानकारी दिए । यहाँ सबैभन्दा बढी दूध उत्पादन हुने गरेको उनले बताए । अन्य खाद्यान्न बाली समेत मागभन्दा बढी नै उत्पादन हुने र बाहिर समेत निर्यात हुँदै आएको जानकारी दिए । कावासोती नगरपालिकाका ७० प्रतिशत नागरिक कृषिमा निर्भर रहेको समेत उनले जानकारी दिए । कावासोती नगरपालिकाले विशेष कार्यक्रम गरेर कृषि र पशु क्षेत्रको विकास गर्ने हो भने यहाँबाट अन्य जिल्लाहरुमा हुने निर्यातमा समेत उल्लेख्य मात्रामा बृद्धि हुनेमा उनले जोड दिए । कार्यक्रममा नगरपालिकामा खाद्य अधिकारका विषयमा कार्यविधि निर्माण गर्ने , बजार अनुगमनलाई नगरपालिकाको पहलमा निरन्तरता दिने गरि कार्ययोजना समेत निर्माण गरिएको थियो ।

इन्सेक जिल्ला सहजकर्ता ज्ञानु पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेक नवलपुर जिल्ला प्रतिनिधि तीर्थराज डुम्रेले खाद्य सुरक्षा र खाद्य सम्प्रभुतासम्बन्धी ऐनको पूर्णरुपमा कार्यान्वयन गर्न सके कोही पनि व्यक्ति खाद्य वस्तुबाट बञ्चित हुन नपर्ने बताए । खाद्य अधिकार विशेष गरेर किसानसँग जोडिएकाले खाद्य तथा कृषि पशुसम्बन्धी कार्यविधि, नियमावली निर्माण गर्दा उनीहरुको प्रतिनिधित्व अनिवार्य गराउनुपर्ने बताएका थिए । कार्यक्रममा मानव अधिकार समूह कावासोतीका सदस्य दयाराम आचार्यले सहजीकरण गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>