राजनीति
नेकपाले भन्यो- भरतपुर र धरानको पराजयले झस्कायो,पार्टीलाई विशेष धक्का

चितवन,मंसिर २९-
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले धरान उपमहानगरपालिका र भरतपुर महानगरपालिकाको वडामा व्यहोरेको पराजयले झस्काएको देखिन्छ । आइतबारबाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रस्तुते राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘स्थानीय तह मध्ये धरान उपमहानगरपालिका र भरतपुर महानगरपालिका वडा नम्बर १६ मा भएको पराजयले हाम्रो पार्टीलाई विशेष धक्का दिएको छ ।’
धरानको मेयरमा तत्कालीन नेकपा एमालेबाट निर्वाचित तारा सुब्बाको निधन भएपछि १४ मंसिरमा भएको उपनिर्वाचनमा कांग्रेसका तिलक राई २६ हजार ६०९ मत ल्याएर मेयरमा निर्वाचित हुँदा नेकपाबाट उठेका प्रकाश राईले २३ हजार ९१४ मत पाए । जबकी २०७४ सालको स्थानीय निर्वाचनमा एमालेका सुब्बाले २० हजार ९७५ र माओवादी केन्द्रका अइन्द्रविक्रम वेघाले ११ हजार १८० मत ल्याएका थिए । त्यतिबेला कांग्रेस उम्मेदवार तिलक राईको जम्मा १६ हजार १०२ मत थियो ।
भरतपुर महानगरपालिका १६ को वडाध्यक्षमा कांग्रेसका अमृतराज हमाल तीन हजार १८३ मत ल्याएर निर्वाचित हुँदा नेकपाका भक्तराज हमालले दुई हजार ८७५ मत पाएका थिए । २०७४ को निर्वाचनमा साविक एमाले र माओवादीले ३ हजार १२१ मत पाएको थियो । एमालेका चतुरमान गुरुङ दुई हजार १३२ मतसहित विजयी भएका थिए । माओवादी केन्द्रका कृष्णप्रसाद पुडासैनीले ९८९ मत ल्याएका थिए ।
प्रतिनिधिसभा सदस्य चयनका लागि कास्की–२ मा भएको उपनिर्वाचन परिणामलाई भने नेकपाले सकारात्मक रुपमा लिएको छ ।
























