राजनीति

कालापानी विषय शुरुमा नै अन्तरराष्ट्रियकरण गरिएमा समस्या जटिल बन्छः दाहाल

Banner

धनगढी, मङ्सिर १९-

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिला राजनीतिक र कूटनीतिक पहलबाट संवाद गरेर कालापानी सीमा समस्याको समाधान गर्ने कोशिश गर्नुपर्ने बताएका छन । प्रेस सङ्गठन नेपालद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले कालापानीको विषयलाई अन्तरराष्ट्रियकरण गर्न पाइँदैन, आवश्यक छैन भन्ने भाषामा आफूले नभनेको बताउँदै शुरुमा नै अन्तरराष्ट्रियकरण गरिएमा समस्या झन् जटिल बन्ने विचार व्यक्त गरे ।
सर्वपक्षीय सर्वदलीय बैठकको सुझावानुसार नै सरकारले सो विषयमा भारतलाई पत्र पठाएको बताउँदै त्यसको जवाफ भने आइनसकेको बताए । पत्रकारको प्रश्नमा उनले कालापानी, लिपुलेक र लिम्पियाधुराबारे सर्वपक्षीय सर्वदलीय बैठक गरेर सरकारले आफ्नो धारणा स्पष्ट पारिसकेको बताउँदै भने,“लिम्पियाधुरा नै महाकाली नदीको मुहान हो, महाकाली सीमा नदी हो, यसमा कहीँ कतै अन्योल छैन ।”
उनले प्रधानमन्त्री अस्पतालमा उपचाररत रहेको अवस्थामा अर्का अध्यक्षले अध्ययन भ्रमणमा जाने कुरा स्वाभाविक नदेखिँदा हाललाई चीन भ्रमण स्थगन गरिएको स्पष्ट गरे । पूर्वप्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा र निर्वाचनका चरणपछि अब अलि बढी ध्यान राज्यद्वारा विगतमा पछि पारिएका क्षेत्रका जनताको विकास र समृद्धिमा केन्द्रित हुनुपर्छ भन्ने पार्टीको नीति रहेको स्पष्ट पारे। मन्त्रिपरिषद् पुनःगठनपछि सरकारको काममा गति आउने अपेक्षा र विश्वास जनता, सरकार र पार्टीले गरेको पनि उनले बताए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>