राजनीति
आलमका मान्छेले अपहरण गरेर पीडितलाई बयान फेर्न लगायो

काठमाडौं कात्तिक ६-
रौतहटको फरहदवामा १२ वर्ष अगाडि भएको बम विष्फोटका प्रत्यक्षदर्शी गौरीशंकर चमारले आफूलाई मोहम्मद अफताव आलमका व्यक्तिले दबाब दिएर बयान फेर्न लगाएको बताएका छन्
आलमका व्यक्तिहरुले आफूलाई अपहरण गरेर चार दिनसम्म भारतमा बन्धक बनाएको र एउटा कागजमा सही गर्न लगाएको गौरीशंकरले बताएका छन् । त्यही कागज अदालतमा बुझाएको उनले बताएका छन् ।
गौरी शंकरको तर्फबाट सोमबार रौतहट जिल्ला अदालतमा पेश भएको कागजातमा आफूलाई बम विष्फोटको घटनाबारे जानकारी नभएको उल्लेख छ । साथै आफू बम विष्फोटमा नभइ स्टोभ पड्किएर घाइते भएको विवरण पनि उल्लेख छ ।
यद्यपि गौरीशंकरले चार दिन अगाडि आफू घरमै बसिरहेको बेला केही मानिसहरुले जीपमा राखेर आलमका सम्धी शिवहरको घरमा बन्धक बनाएर राखेको बताएका छन् । काम छ भनी अपहरण गरी आलमका सम्धीको घरमा बन्धक बनाइ राखेको र डर धम्की दिँदै एक कागजमा हस्ताक्षर गर्न लगाएको बताएका छन् ।
























