राजनीति

कालापानी क्षेत्रमै भारतीय फौजका आठ क्याम्प,धेरै तल नेपाल प्रहरीको सानो चौकी

Banner

दार्चुला,कात्तिक २५-

नेपाली भूमि कालापानी मात्र होइन, गुन्जी र नावीढाङमा पनि भारतीय फौजका आठ क्याम्प छन् । तर, कालापानीभन्दा तल टिंकरको छ्यालेकमा नेपाल प्रहरीको सानो चौकी मात्र छ । जाडो थाम्न नसकेर त्यहाँका प्रहरी छाङरु झरिसकेका छन् । अझ जाडो बढेपछि उनीहरू ५१ किमि तल दुम्लिङ झर्नेछन् । यसरी सबैभन्दा बढी अतिक्रमण भएको ठाउँमा सरकारको उपस्थिति नै शून्य छ ।

नेपाली भूभाग कालापानीमा ५७ वर्षदेखि भारतीय सुरक्षा फौजको परेड चलिरहेको छ । सन् १९६२ मा अर्धसैनिक बलको ब्यारेक स्थापना गरेको भारतले आफ्नो फौज विस्तार गर्दै अहिले तीन स्थानमा आठ क्याम्प खडा गरेको छ ।तर, कालापानी, लिपुलेकलगायतका संवेदनशील सीमा क्षेत्र हेर्ने नेपाल प्रहरीका चौकीहरू भने ६ महिनामा विस्थापित हुन्छन् । कालापानीबाट १८ किलोमिटर दक्षिणमा रहेको व्यास गाउँपालिका–१ छाङरुस्थित सीतापुल प्रहरी चौकी केही हप्तामै विस्थापनको तयारीमा छ ।

छाङरुबाट १२ किलोमिटर पूर्व (चीन)तर्फ रहेको व्यास–१ कै टिंकरस्थित छियालेक चौकीका प्रहरी ५ कात्तिकमै सीतापुल झरिसकेका छन् । अब दुवै चौकीका प्रहरी व्यास गाउँपालिका–२ राप्लास्थित दुम्लिङ चौकी झर्दै छन्, जुन कालापानीबाट ६३ किलोमिटर दक्षिणमा छ । यो छियालेक र सीतापुलका प्रहरीलाई हिउँदका ६ महिना राख्न स्थापना गरिएको अस्थायी चौकी हो । दुम्लिङमा प्रहरी नायब निरीक्षक (सइ)को कमान्डमा १३ प्रहरी कार्यरत छन् ।

यो वर्ष हिउँ पर्न थालेपछि टिंकरमा कार्यरत प्रहरी सीतापुल झरेको बझाङका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र जोशीले बताए । थप जाडो हुँदै गएपछि त्यहाँबाट पनि तल दुम्लिङमा झर्ने उनले बताए । यद्यपि, सीमाविवाद आएपछि सो क्षेत्रमा मनिटरिङ निर्देशन दिइएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>