राजनीति

अधिकारीको जन्मघरबाट भट्टराईको चुनावी अभियान शुरु हुने

Banner

पोखरा,कात्तिक २०-

आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेकपाकोतर्फबाट उम्मेदवार रहनुभएकी विद्या भट्टराईले पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीबाट अभियान शुरु गर्ने बताउनुभएको छ । स्व रवीन्द्र अधिकारीको जन्म घर जहाँ रवीन्द्रले जीवनको बाल्यकालसँगै राजनीतिक जीवनको यात्रा शुरुआत गर्नुभएको थियो । उक्त स्थानबाट नै विद्याले चुनावी अभियानको शुरुआत गर्ने नेकपा कास्कीका निर्वाचन उम्मेदवार व्यवस्थापन समितिका संयोजक धनराज आचार्यले जानकारी दिनुभयो ।

त्रिभुवन विश्वविद्यालयको प्राध्यापन पेशाबाट राजिनामा दिएर निर्वाचनमा आउनुभएकी भट्टराईले उक्त स्थानका स्थानीयवासीसँग अन्तक्र्रिया र भेटघाट गरेर अभियान शुरु गर्न लाग्नुभएको हो । यसैगरी मनोनयन दर्ताको एक दिन मात्र बाँकी रहँदा नेकपासहित साना दल साझा पार्टी, विवेकशील नेपाली दल, समाजवादी पार्टी र राप्रपाले मात्र उम्मेदवार टुङ्गो लगाएका छन् । नेपाली काङ्ग्रेसले भने खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

उम्मेदवारको टुङ्गो लागेसँगै कास्कीमा साना दल चुनावी अभियानमा सक्रिय बनिरहेका छन् । आ–आफ्नै एजेण्डाअघि सारेका अधिकांश उम्मेदवारमध्ये केहीको पुरानो राजनीतिक पृष्ठभूमि देखिन्छ भने केही नयाँ छन् । उम्मेदवारले विकास, समृद्धि र सुशासन एवं पहिचानलगायतका मुद्दालाई चुनावी एजेण्डा बनाएर घरदैलोमा पुग्दैछन् ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्यको पदका लागि कास्की क्षेत्र नं २ मा उपनिर्वाचन हुन लागेको हो । कूल ७१ हजार ८७१ मतदाता रहेको सो क्षेत्रमा ३२ मतदानस्थल र ८२ मतदान केन्द्र रहेको छ । उम्मेदवारले कात्तिक २१ गते मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>