राजनीति
हामी उदार भएकाले चित्त नदुखोस भनेर प्रदेश प्रमुखहरुलाई दुई वर्षसम्म काम गर्न दिएका हौँ : प्रचण्ड

काठमाडौँ कात्तिक १९-
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी उदार र लचिलो भएको हुनाले अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई दुई वर्षसम्म काम गर्न दिएको बताएका छन् ।
बाँकेमा आयोजित पत्रकारहरुसँगको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो सरकार अलिक उदार र लचिलो भएको हुनाले र कसैलाई चित्त नदुखोस् भनेर उहाँहरुलाई दुई वर्ष काम गर्न दिइयो । अहिले फेर्न उचित हुने ठानेर फेरेका हौँ । यो सरकारको क्षेत्राधिकार भित्रको कुरा हो । यसलाई ठूलो ठान्नु पर्ने विषय होइन ।’
अध्यक्ष प्रचण्डले सरकारको प्रतिनिधिको रुपमा प्रदेश प्रमुखले काम गर्ने भएकाले सरकार परिवर्तन भएपछि सामान्य प्रचलन प्रदेश प्रमुखहरु फेरिने रहेको जिकिर गरे । ‘अझ कयौँ देशहरुमा त्यस्ता प्रमुखले मोरल्ली रिजाइन गरिदिने र सरकारलाई काम गर्न सहज पार्ने प्रचलन छ,’ उनको भनाइ थियो ।























