राजनीति
प्रदेश ३ः उपनिर्वाचनमा नखट्ने कार्यकर्तालाई नेकपाले कारबाही गर्ने

काठमाडौं,कात्तिक १४-
नेकपाले मंसिर १४ मा हुने उपनिर्वाचनमा नखट्ने र असहयोग गर्ने नेता कार्यकर्ता जो भए पनि कडा कारवाहीको चेतावनी दिएको छ । उपनिर्वाचन अभियानमा खटिने कार्यकर्ताको अभिलेख राख्नसमेत मातहत कमिटीहरुलाई सर्कुलर गरिएको छ ।
नेकपा प्रदेश ३ कमिटीले कार्यकर्ताका लागि जारी गरेको सर्कुलरमा निर्वाचन अभियानमा खट्ने कार्यकर्ताको अभिलेख राख्ने र कमिटीले मूल्यांकनको विषय बनाउनुपर्ने भनिएको छ ।सुर्कुलरमा भनिएको छ, ‘अभियानमा नखट्ने,पार्टी निर्देशनको अवज्ञा गर्ने र असहयोग गर्ने जो कसैलाई पनि पार्टीले छुट दिनेछैन । कडा कारबाहीको विषय बन्नेछ ।’
पार्टीभित्रका आन्तरिक मनमुटाव र असमझदारीका विषयहरु भए तत्काल समाधान गर्न र तत्काल समाधान हुन नसक्ने कुनै विषय बाँकी रहेमा निर्वाचन अवधिभर चर्चा गर्न नपाईने सर्कुलरसमेत नेकपाले कार्यकर्तालाई पठाएको छ । नेकपाले उपनिर्वाचनका बेला सरकार, पार्टी र नेतृत्वबारेमा नकारात्मक टिप्पणी गर्नसमेत रोक लगाएको छ । बिरोधीले नकारात्मक टिप्पणी गरेमा तत्काल प्रतिवाद गर्नसमेत कार्यकर्तालाई निर्देशन दिइएको छ ।
सर्कुलरमा उपनिर्वाचनका बेला पार्टी सदस्य, समर्थक र सहयोगीहरुबाट चन्दा उठाइ निर्वाचन खर्चको बन्दोबस्न गर्नुपर्ने र बिखतको अनुभवलाई समेत ध्यानमा राखेर खर्चमा मितव्ययतिता अपनाउन समेत भनिएको छ । प्रदेश ३ अन्तर्गत भक्तपुरमा प्रदेशसभा र रामेछापको उमाकुण्ड गाउँपालिका, काठमाडौंको दक्षिणकाली र चितवनका खैरहनीका दुई तथा भरतपुर महानगरपालिकाको एक वडामा उपनिर्वाचन हुँदैछ ।























