चितवन विशेष

प्रदेश ३ को बजेटः चितवनमा डेरी प्रशोधन प्लान्टदेखि बीउ प्रशोधन कार्यक्रमसम्म

Banner

चितवन,असार १-

प्रदेश नं ३ को प्रदेशसभाको आइतबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकारका तर्फबाट आगामी आर्थिक वर्ष ०७६/७७ का लागि कूल रु ४७ अर्ब ६० करोड ८० लाख ८९ हजारको बजेट विनियोजन गरिएको बताएका छन् । उनले सो बजेटमध्ये चालूगततर्फ २४ अर्ब ४० करोड ७९ लाखको बजेट र पूँजीगततर्फ २२ अर्ब ८३ करोड ८९ लाख ९६ हजार र वित्तीयतर्फ ३० करोडको बजेट छुट्याइएको दिए ।

उनले उक्त बजेटले प्रदेशको १३ वटै जिल्लामा राष्ट्रिय गौरवको आयोजना कृषि उत्पादन, पर्यटन, अस्पतालको स्तरोन्नति, बाँझो जग्गामा सामूहिक खेती गर्ने अभियानलाई उच्च प्राथमिकता दिइएको बताए ।

त्यसैगरी उनले सिन्धुलीको दुधौली, मकवानपुरको मनहरिमा नयाँ औद्योगिक क्षेत्र स्थापना गरिने, चितवनमा दूधको उत्पादन गर्ने कारखाना तथा हेटौँडा अस्पताललाई स्तरोन्नति गरी मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानका रूपमा विकास गरिने बताए । बजेटमा प्रदेशको १० जिल्लामा गरिबी न्यूनीकरण गर्ने कार्यक्रम, कृषि, वनलाई संरक्षण गर्ने १३ वटै जिल्लामा छोरी–बुहारीलाई उच्च शिक्षासम्म अध्ययन गराउने अभियानलाई तीव्रता दिइने, पोष्टबहादुर बोगटी भीमफेदी कुलेखानी सुरुङ मार्गलाई निर्माणको अग्रतामा बजेट छुट्याइएको बताइएको छ ।

प्रदेश सरकारले सङ्घीय सरकारसँग समन्वय गरेर आगामी २०८५ सालसम्ममा पेट्रोलबाट चल्ने सवारी साधनलाई उन्मूलन गरी विद्युतीय सवारी साधन सञ्चानलका लागि उच्च प्राथमिकता राखी बजेट क्रमशः छुट्याइँदै लगिएको मन्त्री ढुङ्गेलले जानकारी पनि दिए ।

बजेटले चितवनको कृषि र पर्यटन लगाएतका क्षेत्रलाई सम्बोधन गरेको छ । चितवनको माडीमा चक्लाबन्दी खेती,एकिकृत कृषि पर्यटन कार्यक्रम सञ्चालन,नमूना डेरी प्रशोधन प्लान्ट,बीउ प्रशोधन कार्यक्रम,चितवन राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्रमा स्थानिय तह एवंम जनताको सहभागितामा पर्खाल निर्माण लगाएतका लागि बजेट विनियोजन भएको छ ।

यस्तै प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेश बीउ बिजनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेश कृषि व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा बनेको विधेयक २०७६ प्रमाणीकरण गरेकी छन् ।

नेपालको संविधानको धारा २०१ को उपधारा २ को अधिकार प्रयोग गरी प्रदेशसभाबाट पारित भई आएको दुई वटा विधेयकमा प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुख सचिवालयका सूचना अधिकारी राजेश तामाङले राससलाई जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>