चितवन विशेष

देवघाटमा शव र मलामीको चाप बढ्यो, सरसफाइमा क्षेत्र विकास समितिको सक्रियता

Banner

देवघाट, असार १-

हरेक दिन देवघाटमा शव र मलामीको चाप बढेसँगै देवघाट क्षेत्र विकास समिति अहिले शव दाह स्थल (घाट)को सरसफाइमा सक्रिय भएका छन् ।

आज समितिका अध्यक्ष, कार्यकारी निर्देशक र समितिका सदस्यहरुले घाटको सरसफाइ गरेका हुन् । बढ्दो शहरीकरणबाट मानिसको चाप बढेसँगै दैनिक १० भन्दा बढी शवहरु दाहसंस्कार गर्न देवघाटमा ल्याइन्छ । तर, शव दाहासंस्कार गरिसकेपछि शवको कपडा, ओच्छ्यान, गुन्द्री र अन्य सामग्रीहरु त्यत्तिकै नदी किनारमा छाडेर जाने कारण शवदाह स्थल फोहोर हुन थालेपछि समितिका पदाधिकारी स्वयम् घाटको सरसफाइमा जुटेको समितिका कार्यकारी निर्देशक धिरेनबाबु घिमिरेले बताए ।

समितिले शव दाहासंस्कार गर्ने क्रममा सरसफाई वापत ५०० रुपैयाँ शुल्क लिने गरेको छ । त्यहीबाट संकलित रकमले घाटको नियमित सरसफाइ र व्यवस्थापनको काम गरिने उनले बताए । दिनमा १० भन्दा बढी शव ल्याइने र शवयात्रीहरु पनि धेरै नै हुने हुँदा उनीहरुबाट समेत धेरै फोहोर हुने गरेको कारणले दिन दिनै सोचे अनुसार सरसफाइ गर्न नसकिए पनि प्रभावकारीरुपमा सरसफाई गर्ने बारेमा समिति गम्भीर भएको समितिका अध्यक्ष शिवराज पौडेलले बताए ।

पैसा तिरेको छ भन्दैमा जथाभावी फोहोर पनि गर्नु हुँदैन, नदी तथा जलाधार क्षेत्रहरु एवम् पवित्र स्थानहरुको सरसफाइमा सबैले चासो दिनु पर्ने समितिका अध्यक्ष पौडेलले बताए । समितिले शव दाह क्षेत्रको फोहोर व्यवस्थापनको लागि भरतपुर महानगरपालिकाको फोहोर उठाउने ठेकेदारलाई मासिक १० हजार रुपैयाँ शुल्क बुझाउने गरेको छ भने त्यस क्षेत्रको व्यवस्थापनमा पाँच जना कर्मचारी खटाएको कार्यकारी निर्देशक घिमिरेले बताए ।

समितिले दाहा संस्कार गर्ने दाउराको शुल्क वापत तीन हजार र शुल्क वापत ५०० गरी तीन हजार पाँच सय रुपैयाँ लिने गरेको छ । विगतमा घाट व्यवस्थापनमा समस्या भए पनि अहिले समितिको सक्रियताले घाटको प्रभावकारी व्यवस्थापन र सरसफाइमा समेत उचित ध्यान दिएको कार्यकारी निर्देशक घिमिरेले बताए ।

‘कुनै समय सफा गर्दा गर्दै पनि कतै कतै फोहोर भइहाल्छ’ उनले भने तर त्यसैलाई देखाएर देवघाटधाममा केही भएन भन्नु उचित हैन ।’ बढ्दो शहरीकरणसँगै देशका टाढा टाढाबाट शव दाहासंस्कारको लागि देवघाटमा ल्याइने हुँदा सरसफाइलाई सबैभन्दा बढी प्राथमिकतामा राखेर काम गरिएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>