कालिका

चितवनको कालिका नगरपालिकाद्धारा २० चेपाङलाई रोजगार

Banner

मुग्लिन, असार १-

चितवनको कालिका नगरपालिकाले २० चेपाङलाई रोजगार प्रदान गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत उक्त नगरपालिकाले वडा नं ११ को दाबलिङका चेपाङ युवालाई आजदेखि सडक निर्माणको कामको जिम्मा दिएको हो ।

एसएलसी दिएपछि पाँच वर्षअघिदेखि आफू बेरोजगार भएर रोजगारको खोजीमा रहेका बेलामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू भई फाराम भरेर रोजगार हुन पाउँदा निकै खुशी लागेको अस्मिता चेपाङले बताइन । उनले भनिन, “ एसएलसी दिएपछि घरमै बसिरहेको थिएँ, अहिले गाउँमै रोजगार हुन पाउँदा खुशी छु ।” अर्का हर्कबहादुर प्रजाले पनि काम पाएकाले अब परिवारले सास्ती बेहोर्नु नपर्ने भन्दै खुशी व्यक्त गरे । बिहान बेलुका के खाने भन्ने समस्याबाट तत्कालका लागि मुक्ति मिलेको उनको भनाइ थियो ।

आज यहाँ आयोजित कार्यक्रममा नगरको विपन्न चेपाङ समुदायको बहुल्यता रहेको वडा नं ११ को दाबलिङबाट २० चेपाङलाई काम दिएर उक्त कार्यक्रम शुरु गरिएको नगरप्रमुख खुमनारायण श्रेष्ठले बताए । उनले श्रममा विश्वास गर्दै स्वरोजगार बन्ने अभियानमा सबै लाग्नुपर्नेमा जोड दिए ।

वडा नं ११ मा ५८ जना रोजगारका लागि सूचीकृत भएकामा पहिलो चरणमा २० जनालाई रोजगार दिइएको हो । उनीहरूले दैनिक रु ६०० का दरले पारिश्रमिक पाउनेछन् । नगरपालिकामा तीन हजार १९६जनालाई रोजागारका लागि सूचीकृत गरिएकामा यो वर्ष २२० जनालाई रोजगार दिनेसमेत स्वरोजगार कार्यक्रम संयोजक हरिशरण सोतीले जानकारी दिए । सो कार्यका लागि नगरपालिकाले रु १९ लाख छुट्याइएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>