चितवन विशेष

चक्रवात ‘अनब’को प्रभावः नारायणीसहित प्रमुख नदीका जलाधार क्षेत्रमा वर्षा, बाढीको जोखिम

०
Banner

चितवन , कात्तिक १३ –

चक्रवात ‘अनब’ को प्रभावका कारण नेपालका प्रमुख नदी तथा जलाधार क्षेत्रमा वर्षा हुने सम्भावना रहेकाले नारायणीसहितका नदीमा जलसतह बढ्न सक्ने अनुमान गरिएको छ।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार विशेषगरी नारायणी, कोशी, बागमती, कमला र कन्काई नदी जलाधारमा वर्षाका कारण जलसतह बढ्न सक्ने देखिएको हो।

महाशाखाका अनुसार कात्तिक १३ गते शुक्रबार नारायणी, कोशी तथा तिनका शाखा नदीहरू र बागमती, कमला तथा कन्काई नदी जलाधारमा मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावना छ। यसबाट नदीको जलसतह उल्लेख्य रूपमा बढ्न सक्ने अनुमान गरिएको छ।

कात्तिक १४ गते शनिबार पनि प्रमुख नदीहरूमा जलसतह उच्चतम बिन्दुमा पुग्न सक्ने भए पनि सतर्कता तह पार गर्ने सम्भावना न्यून रहेको पूर्वानुमानमा उल्लेख छ।

त्यस्तै, कात्तिक १५ गते आइतबार कोशी, बागमती तथा नारायणी जलाधारका केही स्थानमा हल्का वर्षा हुन सक्ने र बाढीको जोखिम न्यून रहने अनुमान गरिएको छ।

कात्तिक १६ र १७ गते भने देशभरका प्रमुख नदीहरूमा जलसतह सामान्य अवस्थामा रहने पूर्वानुमान गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाले वर्षाको मात्रा र नदीको अवस्थाअनुसार जोखिम परिवर्तन हुन सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>