देश/प्रदेश
सहज बन्दै भोजपुरवासीको दैनिकी
भोजपुर, असोज ७ –
पूर्वी नेपालको ऐतिहासिक जिल्ला भोजपुर पछिल्लो समय सडक तथा पुल पूर्वाधार निर्माणमा फड्को मार्दै गएको छ । सङ्घीयता कार्यान्वयनपछि केन्द्र, प्रदेश तथा स्थानीय सरकारको प्राथमिकतामा सडक पूर्वाधार पर्न थालेसँगै जिल्लाका ग्रामीण बस्ती सडक सञ्जालमा जोडिनुका साथै मुख्य सडकको स्तरोन्नति र पुल निर्माणले गति लिएको हो ।
दुई नगरपालिका र सात गाउँपालिका गरी ८१ वडा रहेको भोजपुर एक हजार ५२७ दशमलव ३५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । २०७८ सालको जनगणनाअनुसार जिल्लाको जनसङ्ख्या एक लाख ५७ हजार ९२३ रहेको छ ।
देशमा सङ्घीयता कार्यान्वयनसँगै जिल्लाको सडक तथा पुल पूर्वाधारमा नयाँ गति आएको हो । २०७५ सालमा पूर्वाधार विकास कार्यालय भोजपुर स्थापना भएपछि प्रदेश सरकारमार्फत सञ्चालन भएका सडक, पुल तथा अन्य पूर्वाधारका योजनाले जिल्लाको विकासमा महत्वपूर्ण योगदान पु¥याएका छन् । कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार कार्यालय स्थापना हुनुअघि जिल्लामा चारवटा मात्र पक्की पुल रहेकामा त्यसयता १३ वटा पक्की पुल र १७ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेका छन् ।
भोजपुर–टक्सार सडकसमेत कालोपत्र भई सञ्चालनमा आएको छ । अहिले दुईवटा पक्की पुल र तीनवटा मुख्य सडकअन्तर्गतका छ वटा योजना निर्माणाधीन अवस्थामा रहेका छन् । “भोजपुर जिल्लामा सडक पुल निर्माणमा तीव्रता दिएका छौँ”, प्रमुख रेड्डीले भन्नुभयो, “हालसम्म एक पक्की सडक र १३ वटा पक्की पुल निर्माण सम्पन्न गरिसकेका छौँ । केही मुख्य सडक र पुल निर्माणधीन छन् ।”
भोजपुर सदरमुकामलाई उत्तरी क्षेत्रसँग जोड्ने भोजपुर–दिंला सडकको पहिलो खण्डमा कालोपत्रको काम भइरहेको छ । स्थानीयवासीको लामो समयदेखिको मागका रूपमा रहेको यो सडक दुई प्याकेजमा निर्माण भइरहेको छ । यसले भोजपुरको उत्तरी क्षेत्रलाई सङ्खुवासभासँग जोड्ने भएकाले अन्तरजिल्ला सडक सञ्जाल विस्तारको महत्वपूर्ण आधारका रूपमा लिइएको छ । पहिलो खण्डअन्तर्गत १७ दशमलव ५ किलोमिटर सडक निर्माणका लागि कोशी प्रदेश सरकारको रु ५८ करोड ४० लाख १५ हजार ५६१ मा २०८० मङ्सिरमा सम्झौता भएको हो । हालसम्म करिब तीन किलोमिटर सडक कालोपत्र भइसकेको छ भने भौतिक प्रगति ६० प्रतिशत पुगेको छ । सडक निर्माणको जिम्मा मार्सेली निर्माण सेवाले लिएको छ ।
वर्षायाममा हिलो र हिउँद्मा अत्यधिक धुलोका कारण यस क्षेत्रमा आवतजावत कठिन हुने गरेको थियो । सडकको अवस्था कमजोर हुँदा बिरामीलाई उपचारका लागि लैजान, कृषि उपज बजारसम्म पु¥याउन तथा दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न स्थानीयवासीले समस्या भोग्दै आएका थिए । स्थानीयवासी भीमप्रसाद राई सडक कालोपत्र सुरु भएपछि आफूहरू उत्साहित भएको बताउनुहुन्छ । सडक कालोपत्र सम्पन्न भएपछि दैनिक आवतजावतसँगै कृषि उपजको बजारीकरण र स्वास्थ्य सेवामा पहुँच सहज हुने उहाँको भनाइ छ । त्यसैगरी, भोजपुर–दिङ्ला सडककै दोस्रो खण्डअन्तर्गत तीनतले–दिङ्ला १६ किलोमिटर सडक रु ६३ करोड ९२ लाख ६२ हजार ७६१ लागतमा निर्माण भइरहेको छ । २०८० पुसमा सम्झौता भएको यो सडक २०८४ जेठमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हालसम्म यसको भौतिक प्रगति २८ प्रतिशत पुगेको छ । अस्फाल्ट प्रविधिबाट कालोपत्र हुने सडकमा अहिले पर्खाल तथा नाली निर्माणको काम भइरहेको छ ।
भोजपुरको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई जोड्ने तामुटार पक्की पुल निर्माण सम्पन्न भएपछि स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । कोशी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरको रु छ करोड ३३ लाख ५२ हजार ५२६ लागतमा निर्माण भएको ५० मिटर लामो पुल २०८२ साल चैतदेखि सञ्चालनमा आएको हो । पुलले षडानन्द नगरपालिका–१ र साल्पासिलिछो गाउँपालिका–३ चौकी डाँडालाई जोडेको छ ।
पक्की पुल नहुँदा वर्षायाममा खोला बढेपछि आवतजावत पूर्ण रूपमा ठप्प हुने गरेको थियो । बिरामीलाई उपचारका लागि लैजान, गर्भवती महिलालाई अस्पताल पु¥याउन, विद्यार्थीलाई विद्यालय जान तथा दैनिक उपभोग्य सामग्री ओसारपसार गर्नसमेत कठिनाइ हुने गरेको स्थानीयवासी तेजबहादुर घले बताउनुहुन्छ । पुल निर्माण भएपछि दुई स्थानीय तहका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको उहाँको भनाइ छ ।
पूर्वाधार विकास कार्यालयका इन्जिनियर परशुराम साहका अनुसार पुल निर्माणपछि दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य संस्था, शैक्षिक संस्था, बजार तथा प्रशासनिक सेवामा पहुँच सहज भएको छ । गत आर्थिक वर्षमा भोजपुरको दक्षिणी क्षेत्रमा पर्ने ऐसेलु खोलामा पक्की पुल निर्माण सुरु भएको छ । आमचोक गाउँपालिका–७ र ८ लाई जोड्ने उद्देश्यले निर्माण थालिएको पुल वर्षायाममा स्थानीयवासीले भोग्दै आएको आवतजावतको समस्या समाधान गर्ने अपेक्षा गरिएको छ ।
कोशी प्रदेश सरकारको करिब रु छ करोड ६९ लाख लागतमा निर्माण भइरहेको पुल दुई स्पानको हुनेछ । यसको लम्बाइ ५२ मिटर रहनेछ । २०८२ असोजमा निर्माण सम्झौता भएको पुलको निर्माण अवधि दुई वर्ष रहेको छ । निर्माणको जिम्मा युडी लाइट जेभीले लिएको छ । वर्षायाममा खोलामा पानीको बहाव बढ्दा आवतजावत जोखिमपूर्ण हुने गरेको स्थानीयवासी मिसन तामाङ बताउनुहुन्छ । पुल अभावका कारण स्थानीयवासीले पुस्तौँदेखि समस्या भोग्दै आएको उहाँको भनाइ छ । आमचोक–७ का वडाध्यक्ष नवीन राईका अनुसार पुल निर्माण सम्पन्न भएपछि आमचोक गाउँपालिका–२, ३, ५, ६ र ७ का साथै रामप्रसादराई गाउँपालिकाका दुई वडाका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन् ।
त्यस्तैगरी, तेजिङ–हिलारी राजमार्गअन्तर्गत साल्पासिलिछो गाउँपालिका–६ मा पर्ने थुम्लुङ खोलामा पनि पक्की पुल निर्माण भइरहेको छ । पूर्वाधार विकास कार्यालयका अनुसार पुल निर्माणको हालसम्म ५५ प्रतिशत काम सम्पन्न भएको छ । कोशी प्रदेश सरकारको करिब रु चार करोड ९४ लाख ४५ हजार ४५६ लागतमा निर्माण भइरहेको पुलको लम्बाइ ३५ मिटर र चौडाइ फुटपाथसहित ८ दशमलव ४ मिटर रहनेछ । एक स्पानमा निर्माण भइरहेको पुल ओपन फाउन्डेसन प्रविधिमा निर्माण भइरहेको छ ।
विंस २०८२ असोजमा निर्माण सम्झौता भएको पुल २०८४ असोजसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माणको जिम्मा कोसेली–नौलाखा–जय गोविन्द जेभीले लिएको छ । वर्षौँदेखि जोखिम मोलेर खोला तर्दै आएका स्थानीयवासीका लागि पुल निर्माण दीर्घकालीन समाधान बन्ने अपेक्षा गरिएको छ । विशेषगरी विद्यार्थी, ज्येष्ठ नागरिक, बिरामी तथा गर्भवती महिलालाई पुल निर्माणपछि सहज हुने स्थानीयवासी खगेन्द्र राई बताउनुहुन्छ ।
षडानन्द–१२ देखि तुर्के पुल, झ्याउपोखरी हुँदै साम्पाङफाली दोबाटोसम्मको करिब २० किलोमिटर सडक पनि कालोपत्र भइरहेको छ । रु ५१ करोड ६२ लाख लागतमा २०७७ सालमा सम्झौता भएको यो सडकको हालसम्म ८३ प्रतिशत भौतिक प्रगति भएको छ । सडकको करिब १४ किलोमिटर कालोपत्र सम्पन्न भइसकेको छ । अस्फाल्ट प्रविधिबाट कालोपत्र भइरहेको सडकले उत्तरी क्षेत्रको यातायात पहुँचलाई थप सहज बनाउने षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताउनुभयो । सडकको कामलाई सहजरुपमा सम्पन्न गराउन नगरले पनि आवश्यक भूमिका खेलिरहेको उहाँको भनाइ छ ।
त्यस्तै, भोजपुर–टक्सार–मानेभञ्याङ–बासिखोरा–बालाङ्खा–रानीटार सडकको पहिलो प्याकेजअन्तर्गत रु २८ करोड ७० लाख ४८ हजार ८१४ लागतमा काम भइरहेको छ । २०७६ सालमा सम्झौता भएको यो सडकको गत आर्थिक वर्षमा एक किलोमिटर कालोपत्र सम्पन्न भएको छ । हालसम्म सडकको भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ । सोही सडकको दोस्रो खण्ड रु २५ करोड ६९ लाख ३० हजार लागतमा निर्माण भइरहेको छ ।
विसं २०७६ मा सम्झौता भएको उक्त सडकमा कालोपत्रका लागि पर्खाल निर्माण तथा सब–बेस बिछ्याउने काम भइरहेको छ । यसको भौतिक प्रगति ६० प्रतिशत पुगेको छ । दुवै खण्ड अस्फाल्ट प्रविधिबाट कालोपत्र हुनेछन् । नालीसहित सडकको चौडाइ ८ दशमलव १ मिटर रहनेछ । दक्षिणी क्षेत्रको यातायातको मेरुदण्डका रूपमा रहेको यो सडक कालोपत्र हुन थालेपछि स्थानीयवासी उत्साहित भएका छन् । सोही सडकको तेस्रो प्याकेजअन्तर्गत रु १० करोड तीन लाख ८४ हजार लागतमा काम भइरहेको छ । २०८२ कात्तिकमा सम्झौता भएको यो सडक २०८४ जेठमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हालसम्म यसको भौतिक प्रगति २० प्रतिशत रहेको छ । सडकमा कालोपत्रका लागि आवश्यक पर्खाललगायत संरचना निर्माणको काम भइरहेको कार्यालयले जनाएको छ ।
पूर्वाधार विकास कार्यालय भोजपुरले सडक तथा पुलसँगै भवन निर्माणका योजनासमेत सञ्चालन गरिरहेको छ । कार्यालय मातहत गत आर्थिक वर्षमा सालबसाली आयोजनाअन्तर्गत सडक तथा सडक पुलतर्फ ६० र भवनतर्फ १९ गरी ७९ योजना रहेका छन् । तीमध्ये हालसम्म करिब ९५ प्रतिशत योजना सम्पन्न भएको कार्यालयले जनाएको छ तर ठूला बहुवर्षीय योजनामा न्यून बजेट विनियोजन हुनु, वर्षायाममा अत्यधिक वर्षा हुनु अपेक्षित गतिमा काम अघि बढाउन चुनौती देखिने गरेको कार्यालयको भनाइ छ ।
भौगोलिक विकटता, वर्षायाममा हुने प्राकृतिक अवरोध तथा निर्माण सामग्री ढुवानीको समस्या भोजपुरका लागि पूर्वाधार निर्माणका मुख्य चुनौती हुन् । यद्यपि पछिल्लो समय पक्की पुल निर्माण, मुख्य सडकको स्तरोन्नति तथा कालोपत्रको कामले तीव्रता पाएसँगै जिल्लाको यातायात पहुँचमा क्रमिक सुधार हुँदै गएको छ । सडक र पुल निर्माणले यातायात सहज बनाउने मात्र नभई स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन तथा बजारसम्मको पहुँच विस्तारमासमेत महत्वपूर्ण योगदान पु¥याउने देखिन्छ । ग्रामीण बस्तीलाई मुख्य बजार र अन्तरजिल्ला सडक सञ्जालसँग जोड्ने पूर्वाधार निर्माणले भोजपुरको आर्थिक तथा सामाजिक विकासलाई समेत नयाँ आधार दिने स्थानीय जानकारहरुको भनाइ छ । रासस


























