घटना -दुर्घटना
नारायणी नदीमा डुबेकी किशोरीलाई बचाउन जाँदा अर्का व्यक्ति पनि बेपत्ता

नवलपुर, असोज ११-
नारायणी नदीमा डुबेकी एक किशोरीलाई बचाउन जाँदा अर्का व्यक्ति पनि बेपत्ता भएका छन्। अर्का एक किशोरको भने सकुशल उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कात्तिक ९ गते बेलुका करिब ५ः२० बजे गैंडाकोट नगरपालिका–१ स्थित ब्रिटिस क्याम्प पार्क नजिकै सोही ठाउँकी अन्दाजी १७ वर्षीया वर्षा सुनार नारायणी नदीमा डुबेकी थिइन्।
उनलाई डुबिरहेको देखेपछि तत्काल उद्धार गर्न गैंडाकोट–२ बस्ने अन्दाजी १५ वर्षका प्रतिक सापकोटा र १४ वर्षका सबिन सुनार नदीमा छिरेका थिए। सोही क्रममा तीनै जना नदीमा डुबेर बेपत्ता भएका थिए।
घटना लगत्तै चितवनको राप्ती नगरपालिका–९ बस्ने ४१ वर्षीय चेकमान सिंह लामाले १४ वर्षीय सबिन सुनारलाई भने सकुशल उद्धार गर्न सफल भएका छन्।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैंडाकोटबाट प्रहरी निरीक्षक लक्ष्मण गिरीको कमाण्डमा १० जना र सशस्त्र प्रहरी बल नेपाल पितौजीबाट सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्काको कमाण्डमा बोटसहित १० जना गरी कुल २० जनाको टोली तत्काल उद्धार तथा खोजतलासका लागि खटिएको थियो।
बेपत्ता किशोरी वर्षा सुनार र किशोर प्रतिक सापकोटाको खोजी कार्यलाई तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी अनिल पण्डितले बताए । खोजीका लागि चितवनबाट समेत खोताखोरको टोली परिचालन गरिएको छ ।























