Breaking News

चक्रवात ‘मुरासु’ आन्ध्र प्रदेशको तटमा ठोक्कियोः तटीय क्षेत्रमा तीव्र हावाहुरी र वर्षा, नेपालमा नगण्य प्रभाव

०
Banner

आन्ध्र प्रदेश,कात्तिक १७ –

बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘मुरासु’ मंगलबार बिहान भारतको आन्ध्र प्रदेशको दक्षिणी तटमा ठोक्किएको छ । चक्रवातका कारण आन्ध्र प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा, तीव्र हावाहुरी र बाढीको अवस्था सिर्जना भएको छ । केही स्थानमा घरटहरा भत्किएका छन् भने रुख ढलेर सडक अवरुद्ध भएका छन् । खेतबारी डुबानमा पर्दा कृषि बालीमा समेत क्षति पुगेको छ ।

भारतको मौसम विज्ञान विभाग (आईएमडी)का अनुसार चक्रवात मंगलबार बिहान ३ः३० देखि ५ः३० बजेको बीचमा नेल्लोर र नरसापुरबीच ओङ्गोल नजिकै दक्षिणी आन्ध्र प्रदेशको तट पार गरेको हो । त्यसबेला हावाको गति प्रतिघण्टा १०० देखि ११० किलोमिटर रहेको र हावाको झोक्का १२० किलोमिटरसम्म पुगेको थियो ।

चक्रवातको प्रभाव विशेषगरी प्रकाशम जिल्लामा देखिएको छ । ओङ्गोल नजिकैको कोठापटनम तटीय क्षेत्रमा समुद्रमा ठुला छाल उठेका छन् । तीव्र हावाहुरी र वर्षाका कारण त्यहाँका केही झुपडीमा क्षति पुगेको छ भने रुखहरू उखेलिएका छन् ।

प्रकाशम जिल्लाका तल्लो भूभागमा भारी वर्षाका कारण बाढी र डुबानको अवस्था आएको छ । सडकमा पानी जम्दा सवारीसाधन फसेका छन् भने केही सवारीसाधन पल्टिएका दृश्य सार्वजनिक भएका छन् । प्रभावित परिवारलाई जिल्ला परिषद्को विद्यालयमा स्थापना गरिएको चक्रवात राहत केन्द्रमा सारिएको अधिकारीहरूले बताएका छन् ।

कतिपय तटीय क्षेत्रमा पनि भारी वर्षा र हावाहुरीले क्षति पुर्‍याएको छ भने विभिन्न स्थानमा पानी जमेको खबर पनि सार्वजनिक भएको छ । चक्रवातको प्रभावलाई ध्यानमा राख्दै आन्ध्र प्रदेशका विभिन्न जिल्लामा प्रशासनले उद्धार तथा राहत टोली परिचालन गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । विभिन्न जिललाका प्रशासनले आगामी २४ देखि ३६ घण्टासम्म अवस्थाको निरन्तर निगरानी गर्ने जनाएको छ । सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न, घरबाहिर ननिस्कन र प्रशासनले दिएको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।

केन्द्र सरकारद्वारा सहयोगको आश्वासन

भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले आन्ध्र प्रदेशका मुख्यमन्त्री एन। चन्द्रबाबु नायडूसँग टेलिफोन वार्ता गरी चक्रवातबाट भएको क्षति र प्रभावबारे जानकारी लिएका छन् । शाहले केन्द्र सरकारले राज्यलाई आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिएका छन् । उनका अनुसार राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) र राज्य विपद् प्रतिकार्य बल ९एसडीआरएफ० का टोली प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका छन् ।

अन्य राज्यमा पनि भारी वर्षाको चेतावनी

चक्रवातको प्रभावका कारण दक्षिणी आन्ध्र प्रदेशका विभिन्न क्षेत्रमा आगामी १२ घण्टासम्म भारी वर्षा हुन सक्ने मौसम विज्ञान विभागले जनाएको छ । विशेषगरी तटीय तथा तल्लो भूभागमा समुद्री छाल र वर्षाका कारण डुबानको जोखिम रहेको छ ।

बापटला, कृष्णा र प्रकाशम जिल्लाका तटीय क्षेत्रमा समुद्री छाल उच्च हुन सक्ने अनुमान गरिएको छ । चक्रवातको प्रभाव आन्ध्र प्रदेशबाहेक अन्य राज्यमा पनि पर्न सक्ने भएकाले मौसम विभागले सम्बन्धित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

चक्रवातका कारण रेल तथा हवाई सेवा पनि प्रभावित भएका छन् । केही रेल र उडान रद्द गरिएका छन् । यद्यपि उपलब्ध विवरणमा रद्द गरिएका रेल तथा उडानको यकिन संख्या खुलाइएको छैन । प्रशासनले जोखिमयुक्त तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान र उद्धार टोलीसँग समन्वय गर्न आग्रह गरेको छ ।

चक्रवात ‘मुरासु’को प्रभाव नेपाल र उत्तर प्रदेशमा कति ?

त्यसो त नेपाल र भारतको उत्तर प्रदेशमा चक्रवात ‘मुरासु’को प्रत्यक्ष प्रभाव पर्ने सम्भावना नरहेको सम्बन्धित मौसम निकायहरूले जनाएका छन् । नेपालको जल तथा मौसम विज्ञान विभागले नोभेम्बर १ (कात्तिक १५) साँझ जारी गरेको विशेष मौसम बुलेटिनमा मुरासुका कारण नेपालको मौसममा उल्लेखनीय प्रभाव पर्ने सम्भावना नरहेको जनाएको थियो ।

विभागका अनुसार चक्रवात आन्ध्र प्रदेशको नेल्लोर र नरसापुरबीचको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको थियो । विभागले प्रणालीको निरन्तर अनुगमन भइरहेको पनि जनाएको छ ।

त्यसैगरि, भारतको मौसम विज्ञान विभाग, लखनउ केन्द्रका वरिष्ठ मौसम वैज्ञानिक अतुलकुमार सिंहका अनुसार मुरासुको उत्तर प्रदेशमा प्रत्यक्ष प्रभाव पर्ने छैन । नोभेम्बर ३ मा सार्वजनिक गरिएको पूर्वानुमानअनुसार आगामी सात दिनसम्म प्रदेशका सबै जिल्लामा मौसम मुख्यतः शुष्क रहनेछ र वर्षाको चेतावनी जारी गरिएको छैन । बरु आगामी दुई–तीन दिनमा तापक्रम दुईदेखि तीन डिग्री सेल्सियससम्म घट्न सक्ने तथा बिहान हल्कादेखि मध्यम कुहिरो लाग्न सक्ने सम्भावना भएको जनाइएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>