देश/प्रदेश
बाढीपीडितलाई फक्ताङ्लुङ गाउँपालिकाको २६ लाखभन्दा बढी सहयोग

ताप्लेजुङ ,भदौ ३०-
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपीडितलाई २६ लाख रुपियाँ बढी सहयोग गरेको छ ।
गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुबाट आफ्नो तलब तथा सेवासुविधा कटा गरी भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएका परिवारलाई उक्त रकम सहयोग गरेको हो ।
गाउँपालिकाले सोमबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका पीडित तथा प्रभावित परिवारका लागि कुल २६ लाख १५ हजार ७४२ रुपियाँ सहयोग गरिएको जनाएको छ । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट रकम संकलन गरी बाढी पीडित परिवारलाई सहयोग गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गाउँपालिका अध्यक्ष राजन लिम्बू मुक्ति का अनुसार बाढी पीडितलाई सहयोग गरिएको रकम स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीको सेवा, सुविधा र पारिश्रमिकबाट सङ्कलन गरिएको हो ।
सङ्कलित रकममध्ये गाउँपालिकाका जनप्रतिनिधिबाट दुई लाख ३४ हजार २५० रुपियाँ र पालिकामा कार्यरत कर्मचारीबाट छ लाख ४८ हजार ५३२ रुपैंयाँ रहेको छ ।
त्यस्तै, पालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट १७ लाख ३२ हजार ९६० रुपियाँ रकम सङ्कलन भएको छ ।
गएको शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले भोटेकोशीमा आएको बाढी तथा देशका विभिन्न स्थानमा भएको प्राकृतिक विपतको घटनाबाट रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत विभिन्न जिल्लाका प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्ने निर्णय गरेको थियो ।
गाउँ कार्यपालिकाको सोही निर्णयअनुसार रकम सङ्कलन गरी बाढी प्रभावित परिवारलाई सहयोग गरिएको पालिकाले जनाएको छ । उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने गाउँपालिका अध्यक्ष लिम्बूले जानकारी दिए ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण एक हजार बढी नागरिकको मृत्यु भएको छ भने पाँच हजार बढी बेपत्ता भएका छन् ।
























