चितवन विशेष
कृष्णभीरमा गाडी चलाउन मिल्ने गरी खुल्यो नयाँ ट्र्याक

चितवन भदौ, २८
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गाडी चलाउन मिल्ने गरी नयाँ ट्र्याक खोलिएको छ। गत भदौ १४ गते त्रिशूली नदीको बाढीले सडक भासिएपछि त्यसको माथिल्लो भागबाट नयाँ ट्र्याक निर्माण गरी बिहीबारदेखि दुईतर्फी नै सवारी साधन सञ्चालन गर्न लागिएको हो।
भासिएको खण्डमा २ सय ५२ मिटर लामो नयाँ ट्र्याक खोलेर अहिले ग्रेड मिलाउने काम भइरहेको छ। ग्रेड मिलाएलगत्तै ग्राभेल गरिने सडक विभागका महानिर्देशक विजय जैसीले बताए। ‘अहिले सडक सुधार गरेर सवारी सञ्चालनको अन्तिम तयारी छ, बिहीबारदेखि दुईतर्फी नै सवारी साधन खुल्ला गर्छौं,’ महानिर्देशक जैसीले भने।
सडक भासिएको सात दिनपछि भदौ २० गते ‘डाइभर्सन ट्र्याक’ खोलिएको थियो। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक विभागले छिटो काम सक्न नेपाल जियो टेक्निकल सोसाइटीसँग समझदारीपत्र ९एमओयू० गरेर यो ट्र्याक निर्माण अघि बढाएको थियो। हाल विभागको प्राविधिक टोली कृष्णभीरमै खटिएर काम गरिरहेको छ।
नयाँ ट्र्याक खुलेपछि यात्रुवाहक बस, ग्यास बुलेट, पेट्रोलियम पदार्थ बोकेका गाडी लगायत सबै सवारी साधनलाई सहज रूपमा आवतजावत गर्न दिइने विभागले जनाएको छ। काठमाडौं प्रवेश गर्ने ‘लाइफलाइन’ मानिने यो सडक अवरुद्ध हुँदा उपत्यकामा दैनिक उपभोग्य वस्तु ढुवानीमा ठूलो समस्या परेको थियो।
यस क्षेत्रको दीर्घकालीन समाधानका लागि पारिपट्टिबाट सडक सुधारको कामसमेत भइरहेको छ। त्यसको स्थायी विकल्पका रूपमा सुरुङमार्ग वा पुल के बनाउने भन्नेबारे प्राविधिक अध्ययन भइरहेको महानिर्देशक जैसीले जानकारी दिए।























