देश/प्रदेश
जनकपुर बिजलपुरा रेल सेवालाई व्यवस्थित र पर्यटकमैत्री बनाउन माग

जनकपुर,कात्तिक १८ –
नेपालको एकमात्र रेल जयनगर बिजलपुरा रेल्वेकलाई व्यवस्थित र पर्यटकमैत्री बनाउन माग गरिएको छ ।
जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीलाई आज (बुधबार) १० बुँदे ज्ञापनपत्र बुझाएको छ । अभियानका सदस्यहरुले जनकपुरधामस्थित रेल्वेको कार्यालयमा पुगेर महाप्रबन्धक पराजुलीलाई ज्ञापनपत्र बुझाउँदै रेल्वे स्टेसन तथा प्लेटफर्मको सरसफाइ, यात्रु सुविधाको व्यवस्थापन, भौतिक संरचनाको मर्मतसम्भार र रेल्वे सेवाको विस्तारलगायतका विषयमा तत्काल सुधार गर्न १० बुंदे मागसहितको ज्ञापन पत्र बुझाएका छन् ।
भारतको अयोध्याबाट जनकपुरधामसम्म रामायण सर्किटअन्तर्गत रेल सेवा सञ्चालनको तयारी भइरहेका बेला जनकपुर रेल्वेको वर्तमान अवस्थाले अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश जान सक्ने भन्दै अभियानले उठाएका मागहरु जति सक्दो छिटो पूरा गर्न आग्रह गरेको छ ।
ज्ञापनपत्रमा रेल चढ्ने तथा ओर्लिने यात्रुको सहज आवागमन र व्यवस्थापनका लागि उचित व्यवस्था मिलाउन माग गरिएको छ । प्लेटफर्मको दैनिक सरसफाइको अवस्था दयनीय रहेको उल्लेख गर्दै उच्चस्तरको सफाइ व्यवस्था लागू गर्न अभियानले आग्रह गरेको छ । त्यस्तै, यात्रु प्रतीक्षालयलाई सुविधासम्पन्न तथा व्यवस्थित बनाई नियमित सञ्चालनमा ल्याउनुपर्ने माग पनि अघि सारिएको छ ।
अभियानले रेल्वे प्लेटफर्ममा बिग्रिएका भौतिक संरचनाको तत्काल मर्मतसम्भार गर्नुपर्ने, खानेपानी तथा शौचालयको उचित व्यवस्थापन गरी नियमित सञ्चालन गर्नुपर्ने र लामो समयदेखि सञ्चालनमा नरहेका विद्युतीय उपकरण तथा अन्य साधन मर्मत गरी प्रयोगमा ल्याउनुपर्ने माग गरेको छ ।
त्यसैगरी, रेल्वे कम्पनीको कम्पाउन्डभित्र रहेका खाली तथा घेराबार गरिएका जग्गालाई व्यवस्थित पार्क र बगैँचाका रूपमा विकास गर्नुपर्ने अभियानको सुझाव छ ।
रेल्वे परिसरमा निर्माण सम्पन्न भइसकेका दैनिक हाटबजारका लागि बनाइएका सटर तथा भवन लामो समयदेखि पूर्ण रूपमा उपयोगमा आउन नसकेको भन्दै अभियानले तिनलाई अविलम्ब सञ्चालनमा ल्याउनसमेत माग गरेको छ ।
यसैगरी, रेल्वे क्रसिङ क्षेत्रमा दैनिकजसो सवारी दुर्घटना हुने गरेको विषयलाई पनि ज्ञापनपत्रमा प्राथमिकताका साथ उठाइएको छ । रेल्वे क्रसिङ आसपासका सडक मर्मत गरी आवश्यक संकेत, छेकबार तथा सुरक्षा प्रबन्ध मिलाउन अभियानले माग गरेको छ ।
ज्ञापन पत्र बुझ्दै महाप्रबन्धक पराजुलीले ममर्त सम्भार र सरसफाईका कार्य अहिले दैनिक रुपमा भईरहेको र थप प्रभावकारी रुपमा अगाडि बढाउने बताए । उनले यात्रुको चाँपलाई मध्येनजर गर्दै रेलको फ्रिक्वेन्सी बढाउन डब्बा थप गर्ने प्रस्ताव पेश गरिसकेको जानकारी दिए । उनले रेल्वे परिसरमा निर्माण भएका भाडा लगाउन राखिएका कोठाहरु हस्तान्तरण नभएकोले हस्तान्तरण भएलगत्तै ठेक्का वा भाडामा लगाईने बताए । अयोध्यादेखि जनकपुरसम्म रेल चलाउन तयारी भइरहेको समेत महाप्रवन्धक पराजुलीले जानकारी दिए । उनले भोली भारतीय ट्रेन ट्रयाक टेस्टका लागि भोली (बिहीबार)आउन लागेको बताए ।
























