चितवन विशेष

चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा पचास हेक्टर वन क्षेत्रमा टाइगर सेन्चुरी

Banner

चितवन, भदौ २८-

समस्याग्रस्त बाघलाई व्यवस्थापन गर्दै पर्यापर्यटनसँग जोड्ने उद्देश्यले यहाँ टाइगर सेन्चुरी बनाउन थालिएको छ । हाल दुई वटा समस्याग्रस्त बाघ राखिएको देवनगरमा २० वटा बाघ राख्न सक्ने गरी टाइगर सेन्चुरी बनाउन लागिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको देवनगरमा चालु आर्थिक वर्षदेखि टाइगर सेन्चुरी निर्माणको काम थाल्न रु पाँच करोड बजेट विनियोजन गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डा हरिभद्र आचार्यका अनुसार अहिले भइरहेको होल्डिङ सेन्टरसहित तीन किसिमका संरचना सेन्चुरीमा बनाइने छ ।

आचार्यका अनुसार खोरभित्र रहेका बाघलाई मचानमा बसेर वा ‘क्लोजब्रिज’बाट हेर्न मिल्ने गरी बाघ राखिने छ । ती बाघलाई घेरिएका संरचना दुई तहको बनाइने छ । जसका कारण भित्रको बाघ बाहिर आउन नसक्ने र बाहिरका जनावर भित्र छिर्न नसक्ने गरी संरचना बनाइने छ । यो होल्डिङ सेन्टरभन्दा धेरै फराकिलो हुने छ ।

सो वन क्षेत्रमा ५० हेक्टर जमिन लिएर बाँकी भागलाई खुल्ला खोरका रूपमा विकास गरिने प्रवक्ता आचार्यले बताउनुभयो । खोरभित्र जिपमा बसेर मानिसले बाघ अवलोकन गर्न सक्ने छन् । उहाँले भन्नुभयो, “मान्छे खोरभित्र र बाघबाहिर हुने गरी संरचना निर्माण गरिने छ ।”

तीन तहमा टाइगर सेन्चुरी बनाउनका लागि यसै आर्थिक वर्षदेखि काम गरिने छ । उहाँका अनुसार ती क्षेत्रमा २० वटा बाघ राख्न मिल्ने गरी संरचना बनाइने छ । बाघलाई एक अर्काको बीचमा बार बनाएर राखिने छ । पूरै काम गर्नका लागि ठूलो खर्च लाग्ने भए पनि थालनी गरिने आचार्यले जानकारी दिनुभयो ।

समस्याग्रस्त बाघलाई उद्धार गरेर प्राकृतिक वातावरणकै झल्को दिने गरी व्यवस्थापन गर्न लागिएको हो । नेपालमा यस खालको संरचना अहिलेसम्म बनाइएको छैन । विदेशमा टाइगर सेन्चुरी बनाएर त्यहाँ पर्यटक घुमाएर आम्दानी पनि गर्ने गरिएको छ । आचार्यका अनुसार नेपालमा यस खालको सेन्चुरी बनेसँगै बाघको व्यवस्थापन र पर्यटक घुमाएर आम्दानी गर्न सकिने छ ।

नेपालका विभिन्न ठाउँमा रहेका खोरहरूमा १९ वटा समस्या ग्रस्त बाघ छन् । खोरमा भएकामध्ये सबैभन्दा बढी चितवनमा सात, बर्दिया र चिडियाखानामा पाँचरपाँच वटा, पर्सा र बाँकेमा एकरएक वटा बाघ रहेका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले जानकारी दिनुभयो । सबैभन्दा बाघ भएको चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रणमा लिनु परेका समस्याग्रस्त बाघ राख्ने खोर नभएपछि अन्यत्र पठाउने गरिएको छ ।

संरक्षण अधिकृत पुर्जापुनका अनुसार यसै महिना नियन्त्रणमा लिइएको एउटा बाघलाई पर्सा पठाइएको छ । बाघको सङ्ख्या धेरै हुँदै गर्दा समस्या ग्रस्त बाघ बढ्दै गएका छन् । “मानव बस्तीमा पसेर जनधनको क्षति पुर्‍याउने हिंस्रक बाघलाई समस्याग्रस्त मानेर नियन्त्रणमा लिई खोरमा राख्ने गरिन्छ । केही समय राखेर कतिपयलाई पुनः वनमा छोडिन्छ भने कतिपयलाई नमरेसम्म खोरमा राख्ने गरिन्छ”, उहाँले भन्नुभयो ।

बुढो, घाइते र बिरामी भएर सिकार गर्न नसकेपछि त्यस्ता बाघ मानव बस्तीमा पस्ने गर्दछ । त्यस्ता बाघलाई राखेर व्यवस्थापन र पर्यटकीय गन्तव्य समेत बनाउने उद्देश्यले टाइगर सेन्चुरी बनाउन लागिएकोसंरक्षण अधिकृत पुर्जापुनले जानकारी दिनुभयो ।

बाघ हेर्ने धेरैलाई रहर हुने गर्दछ । विज्ञहरूका अनुसार कुल बाघको पाँच प्रतिशत हाराहारी प्राकृतिक रूपमा नै समस्याग्रस्त हुने गर्दछन् । पुनका अनुसार अहिले बनाउन लागिएको ‘टाइगर सेन्चुरी’ को संरचनामा बाघ बाहिर जान नसक्ने गरी सीमित जङ्गलक्षेत्रलाई घेरेर कम्पाउन्ड र त्योभन्दा माथि इलेक्ट्रिक फेस जडान, अवलोकनका लागि ठूलाठूला मचान, पानीपोखरी लगायतका संरचना बनाउने योजना छ ।

राष्ट्रिय बाघ सर्वेक्षण, २०८२ अनुसार नेपालमा बाघको सङ्ख्या ४२९ छ । जसमध्ये चितवनमा १४५, बर्दियामा ११२, पर्सामा ७१, बाँकेमा ५१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५० वटा बाघ रहेका छन् । सन् २०२२ को राष्ट्रिय बाघ गणनाअनुसार यो सङ्ख्या ३५५ थियो । सन् २०१० मा १२१ रहेको बाघको सङ्ख्या क्रमशः बढ्दै गएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>