चितवन विशेष

उद्योगी–व्यवसायीका साझा मुद्दामा सहकार्य गर्न देउखुरी–चितवन उद्योग वाणिज्य संघबीच छलफल

Banner

चितवन, साउन २४
देउखुरी उद्योग वाणिज्य संघ र चितवन उद्योग वाणिज्य संघबीच उद्योगी–व्यवसायीका साझा मुद्दामा सहकार्य गर्ने विषयमा छलफल भएको छ।

चितवन उद्योग वाणिज्य संघको सभाहलमा भएको भेटघाटमा दुई संघबीच आपसी समन्वय, व्यावसायिक हित, संस्थागत विकास तथा निजी क्षेत्रका साझा समस्या समाधानका विषयमा अनुभव आदानप्रदान गरिएको हो।

कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले देउखुरीबाट आएको टोलीलाई स्वागत गर्दै चितवनको उद्योग तथा व्यवसायको अवस्था र उद्योगी–व्यवसायीले भोगिरहेका समस्याबारे जानकारी गराउनुभयो। उहाँले दुई संघबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै साझा मुद्दामा सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुमनकुमार श्रेष्ठले निजी क्षेत्रको सशक्तीकरणका लागि उद्योग वाणिज्य संघबीच अनुभव र सिकाइ आदानप्रदान आवश्यक रहेको बताउनुभयो। उहाँले महासंघले कार्यान्वयनका लागि अघि सारेका योजनाबारे समेत जानकारी गराउनुभयो।

देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजङ्ग सिंह ठकुरीले चितवन उद्योग वाणिज्य संघले गरेको स्वागत तथा आतिथ्यताप्रति धन्यवाद व्यक्त गर्दै भ्रमणबाट प्राप्त अनुभवले देउखुरी उद्योग वाणिज्य संघको आगामी कार्यदिशा तय गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँले देउखुरी उद्योग वाणिज्य संघका गतिविधिबारे पनि जानकारी गराउनुभयो।

कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण प्रधान, जनक पौडेल, कार्यकारी निर्देशक निलबहादुर केसी, कार्यसमिति सदस्य तथा देउखुरी उद्योग वाणिज्य संघका पदाधिकारी र कार्यसमिति सदस्यहरूको सहभागिता थियो।

चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यक्रमअधिकृत गणेश सुवेदीले गर्नुभएको थियो। वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>