देश/प्रदेश

कोशी प्रदेश सरकारले जिल्ला अस्पताल सङ्खुवासभालाई एक सय शय्यामा स्तरोन्नति गर्ने

०
Banner

सङ्खुवासभा, कात्तिक २० –

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जिल्ला अस्पताल सङ्खुवासभालाई एक सय शय्यामा स्तरोन्नति गर्ने बताउनुभएको छ । आज जिल्ला अस्पताल सङ्खुवासभाको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले ५० बाट १०० शय्यामा अस्पतालाई स्तरोन्नति गर्न प्रदेश सरकार तयारी रहेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले आज एक कार्यक्रमबीच नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो । उहाँले आगामी आर्थिक वर्षमा प्रदेश सरकारले जिल्ला अस्पताल सङ्खुवासभासहित प्रदेशका अन्य चार अस्पताललाई ५० बाट स्तरोन्नति गरी १०० शय्याको बताउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अस्पतालको भौतिक संरचनासँगै स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न आवश्यक जनशक्ति र कर्मचारी दरबन्दीसमेत थप गरिने मुख्यमन्त्री कार्कीले बताउनुभयो । अस्पतालको क्षमता विस्तारसँगै विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने प्रदेश सरकारको योजना रहेको उल्लेख गर्दै उहाँले जिल्लावासीले सामान्य उपचारका लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य गर्न अस्पताललाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाइने बताउनुभयो ।

उहाँले अस्पताललाई छिमेकी जिल्ला भोजपुर तथा आसपासका स्थानीय तह र धनकुटाका केही क्षेत्रका नागरिकलाई सेवा दिने रिफरल अस्पतालका रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो । सडक सञ्जाल विस्तार भइसकेकाले यस क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताललाई रिफरल अस्पतालका रूपमा विकास गर्न चाहेको मुख्यमन्त्री कार्कीले बताउनुभयो ।

उत्तर दक्षिण कोशी राजमार्गको ट्याक खुलिसकेको र सडक स्तरोन्नतिको क्रममा रहेकाले आगामी दिनमा यातायात पहुँच अझ सहज हुने अपेक्षा गरिएको बताउँदै मुख्यमन्त्री कार्कीले सडकलाई थप स्तरोन्नति गर्दै यात्रा दूरी छोट्याउने तथा आवश्यक सुरुमार्ग निर्माण गर्नुपर्ने विषयमा प्रदेश सरकारले योजना बनाइरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीले हिमाली तथा दुर्गम क्षेत्रबाट आउने बिरामीलाई उपचार सेवा प्रदान गर्ने हिसाबले यो अस्पताल महत्त्वपूर्ण स्थानमा रहेको बताउनुभयो । “गुणस्तरीय उपचार सेवा दिन अस्पताललाई थप व्यवस्थित र स्तरीय बनाउनु हाम्रो जिम्मेवारी हो”, उहाँले भन्नुभयो ।

जिल्ला समन्वय समिति सङ्खुवासभाका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले जिल्ला अस्पतालले सङ्खुवासभासहित छिमेकी भोजपुरको उत्तरी क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताउनुभयो । अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन भौतिक पूर्वाधार, उपकरण र जनशक्तिको विस्तार आवश्यक रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिलामन्त्री विदुर लिङ्थेप, प्रदेशसभा सदस्य राजेन्द्र कार्कीलगायतको उपस्थिति थियो । उक्त भवन सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटामार्फत रु २७ करोड २७ लाख ८० हजारको लागतमा निर्माण गरिएको हो ।

विसं २०७५ असार २२ गते निर्माणको जिम्मा लिएको विकोईरस्वामीनारायणरआशीर्वाद निर्माण कम्पनीले लामो समयपछि भवन निर्माण सम्पन्न गरेको हो । निर्माण सम्झौताअनुसार २०७८ असार २२ गतेभित्र सम्पन्न हुनुपर्नेमा निर्धारित समयभन्दा करिब चार वर्षपछि मात्रै काम पूरा भएको हो ।

प्राविधिक कारणले करिब दुई वर्ष काम रोकिँदा आयोजना सम्पन्न हुन ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ । कुल एक हजार ६४१ वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको नयाँ भवनमा तीन वटा ब्लक छन् । जिल्ला अस्पताल सङ्खुवासभा विसं २०३३ मा स्थापना भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>