देश/प्रदेश
बूढानीलकण्ठमा कृषक सम्मेलन सुरु

काठमाडौँ, कात्तिक २० –
काठमाडौँको बूढानीलकण्ठमा दुईदिने ‘कृषक सम्मेलन तथा कृषि पशु उत्पादन प्रदर्शनी मेला’ सुरु भएको छ । बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा स्थानीय कृषि तथा पशुजन्य उत्पादनको प्रवर्द्धन, बजारीकरण र उपभोगलाई प्रोत्साहन गर्ने उद्देश्यले आजदेखि दुईदिने कृषक सम्मेलन तथा कृषि तथा पशु उत्पादन प्रदर्शनी मेला सुरु भएको हो ।
मेलाको आज बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले उद्घाटन गर्नुभयो । कार्यक्रममा उहाँले चाडपर्वलाई लक्षित गरी बूढानीलकण्ठ नगरपालिकाभित्रका कृषकबाट उत्पादित वस्तुलाई प्रदर्शनी गर्नुका साथै कृषक सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो ।
नगरप्रमुख अधिकारीले नगरपालिकाभित्र उत्पादित स्थानीय तथा रैथाने कृषि र पशुजन्य उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले कृषक सम्मेलन तथा प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । मेलामा स्थानीय कृषक तथा उत्पादकले उत्पादन गरेका फूल, फलफूल, तरकारी, दुग्धजन्य पदार्थलगायत विभिन्न कृषि तथा पशुजन्य सामग्रीको प्रदर्शनी तथा बिक्री गरिएको छ ।
बूढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले बूढानीलकण्ठ नगरपालिकाले लघु तथा साना कृषक उद्यमीको पक्षमा काम गरिरहेको बताउनुभयो । उहाँले कृषकलाई अनुदान प्रदान गर्नेदेखि स्वस्थ्य कृषक कार्यक्रमसमेत नगरपालिकाले अगाडि सारेको उल्लेख गर्नुभयो ।
उहाँले किसानबाट उत्पादित रैथाने खानाको प्रवर्द्धनमा नगरपालिकाको सहयोग रहने बताउनुभयो । मेलामार्फत स्थानीय उत्पादनको अवलोकन तथा खरिद गरी स्थानीय कृषक र उत्पादकलाई प्रोत्साहन गर्न नगरपालिकाले नगरवासी तथा सम्पूर्ण उपभोक्तालाई आग्रह गरेको छ । मेला शनिबारसम्म सञ्चालन हुनेछ ।
























