चितवन विशेष
बागेश्वरीमा सामूहिक गाई पूजा हुने

चितवन, कार्तिक २०-
चितवनको भरतपुर महानगरपालिका–१ देवघाटधाममा रहेको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा तिहारको अवसरमा तीन दिनसम्म सामूहिक गाई पूजा गरिने भएको छ ।
उक्त केन्द्रले विगतका वर्षझै यस वर्ष पनि सामूहिक गौ पूजा गर्ने भएको हो ।
तिहारको अवसरमा कात्तिक २२ देखि २४ गतेसम्म सामूहिक गाई पूजा तथा गोवद्र्धन पूजा एवम् अखण्ड हरिनाम संकीर्तन गर्न लागिएको हो । वैदिक सनानती परम्पराअनुसार गाईलाई लक्ष्मीको प्रतीकका रुपमा पुज्ने गरिन्छ । धर्म संस्कार र संस्कृतिको रक्षार्थ पूजा आयोजना गर्न लागिएको हो । केन्द्रमा गाई पूजालाई स्वतःस्फूर्तरुपमा मनाउने गरी तयारी थालिएको केन्द्रका संरक्षक शान्तप्रसाद पोखरेलले बताउनुभयो ।
राष्ट्र गुरु योगी नरहरिनाथ ले विसं २०४५ सालमा चितवनको माडीबाट स्थानीय जातका पाँच वटा गाई ल्याएर सुरु गरिएको यस गौ संरक्षण केन्द्रमा हाल २८५ वटा गाई पुगेका संस्थाका महासचिव दुर्गाप्रसाद भण्डारीले बताउनुभयो । केन्द्रमा रहेका गाईको संरक्षण दाताको भरमा हुँदै आएको उहाँको भनाइ छ । यहाँ रहेका गाईको दैनिक आहारविहार दाता र चन्दाको भरमा सञ्चालन हुने गरेको छ ।
























