देश/प्रदेश
उपत्यकामा हराएका र चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला

काठमाडौँ, कात्तिक २० –
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा विभिन्न समयमा हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले फेला परेका सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो ।
उहाँका अनुसार हस्तान्तरण गरिएका सवारीसाधनमध्ये २५ वटा मोटरसाइकल र २५ वटा स्कुटर रहेका छन् । ट्राफिक प्रहरीले विभिन्न समयमा प्राप्त निवेदनका आधारमा खोजतलास गर्दा ती सवारीसाधन फेला पारेको जनाएको छ ।
कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख काफ्लेले सवारीसाधनको सुरक्षामा स्वयं धनी पनि सचेत हुनुपर्ने बताउँदै हराए वा चोरी भएमा तत्काल ट्राफिक प्रहरीलाई जानकारी गराउन आग्रह गर्नुभयो । उहाँले सवारीसाधन जथाभावी तथा एकान्त स्थानमा पार्किङ नगर्न, जिपीएसलगायत सुरक्षा उपकरण जडान गर्न र आवश्यक सावधानी अपनाउन सुझाव दिनुभयो ।
ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले चालु आर्थिक वर्ष २०८२र८३ मा हालसम्म हराएका तथा चोरी भएका ३०३ वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई बुझाइ सकिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार चालु आवमा मोटरसाइकल चोरीमा संलग्न रहेको आशंकामा ३४ जनालाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसरमा पठाइएको छ । त्यसैगरी, तीन वटा चारपाङ्ग्रे सवारीसाधन र दुई वटा मोटरसाइकल आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा पठाइएको छ ।
प्रवक्ता सुवेदीले व्यक्तिगत सतर्कता, प्रविधिको प्रभावकारी प्रयोग र भौतिक सुरक्षाको संयोजनबाट सवारीसाधन चोरी नियन्त्रण गर्न सकिने बताउनुभयो । आपराधिक गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनी कारबाहीलाई प्रभावकारी बनाउँदै ट्राफिक प्रहरीले जनशक्ति र आधुनिक प्रविधिको प्रयोगमार्फत निगरानी बढाइरहेको उहाँले जानकारी दिनुभयो ।
हराएका तथा चोरी भएका सवारीसाधन खोजी गरी सम्बन्धित धनीलाई फिर्ता गराउने अभियानले नागरिकमा प्रहरीप्रतिको विश्वास बढाउनुका साथै सवारीसाधन चोरी नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । फेला परेका सवारीसाधन फिर्ता पाएपछि धनीहरूले खुसी व्यक्त गर्दै ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन् ।
























