Breaking News

रिजन ढकालको घातक बलिङमा पोखरालाई हराउँदै चितवन तेस्रो स्थानमा

०
Banner

काठमाडौं,कात्तिक २० –

नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले लगातार चौथो हार बेहोरेको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखरा चितवन राइनोजसँग ३० रनले पराजित भएको हो।

चार खेल खेलिसक्दा पनि पोखराले जितको खाता खोल्न सकेको छैन। चितवनले भने चार खेलबाट दोस्रो जित निकाल्दै पाँच अंकसहित अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमै समेटियो। पोखराका लागि अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए। अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

पोखरालाई सस्तैमा समेट्ने क्रममा चितवनका रिजन ढकालले चार रन खर्चेर चार विकेट लिए। कमल ऐरीले तीन विकेट लिँदा ड्यान मोस्ले, मौसम ढकाल र कुशल मल्लले समान एक विकेट लिए।

यसअघि टस जितेर फिल्डिङ रोजेको पोखराविरुद्ध पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो।

चितवनका लागि कप्तान सिकन्दर राजाले ३७ र रवि बोपाराले ३५ रन बनाए। उनीहरूले पाँचौँ विकेटका लागि ६० रनको साझेदारी गर्दै टोलीको इनिङ्स सम्हालेका थिए। त्यसअघि अर्जुन साउदले ३१ र डेविड मलानले २८ रनको योगदान दिएका थिए।

पोखराका लागि कुशल भुर्तेल, विपिन खत्री र चामिका करुनारत्नेले समान दुई विकेट लिए।

यसअघि पहिलो खेलमा विराटनगर किङ्सलाई आठ विकेटले हराएको चितवनले वर्षाका कारण लुम्बिनी लाइन्ससँग अंक बाँडेको थियो भने सुदूरपश्चिम रोयल्ससँग पाँच विकेटले पराजित भएको थियो।

चार खेलमा लगातार हार बेहोरेको पोखरा भने चितवनसँगै सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स र लुम्बिनी लाइन्ससँग पराजित भएको छ। अंकतालिकामा सात अंकसहित लुम्बिनी शीर्ष र छ अंकसहित सुदूरपश्चिम दोस्रो स्थानमा छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>