चितवन विशेष
चितवनका युवा उद्यमी कृष्ण सापकोटा नेपाल युवा उद्यमी मञ्चको द्वितीय उपाध्यक्षमा निर्वाचित

काठमाडौं, साउन २४-
चितवनका युवा उद्यमी तथा वैष्णवका सञ्चालक कृष्ण सापकोटा नेपाल युवा उद्यमी मञ्च(NYEF) को राष्ट्रिय गभर्निङ काउन्सिलको द्वितीय उपाध्यक्षमा निर्वाचित हुनुभएको छ। काठमाडौंस्थित सोल्टी होटलमा २०८३ साउन २३ गते सम्पन्न नेपाल युवा उद्यमी मञ्चको राष्ट्रिय साधारण सभाबाट सापकोटा द्वितीय उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।
युवा उद्यमशीलता, व्यवसाय प्रवर्द्धन तथा उद्यमीहरूबीच सहकार्य विस्तारमा सक्रिय सापकोटा यसअघि नेपाल युवा उद्यमी मञ्च चितवन शाखाको अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ। चितवनको युवा उद्यमशीलता क्षेत्रमा सक्रिय रहँदै आउनुभएका सापकोटाको राष्ट्रिय गभर्निङ काउन्सिलमा भएको निर्वाचनले चितवन शाखाको प्रतिनिधित्वलाई समेत थप मजबुत बनाएको छ। सापकोटाको नेतृत्वमा युवा उद्यमीहरूको क्षमता अभिवृद्धि, उद्यमशीलताको प्रवर्द्धन तथा देशभरका युवा व्यवसायीबीच सहकार्य र सञ्जाल विस्तारमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।
उहाँको निर्वाचनसँगै चितवनका युवा उद्यमी तथा व्यावसायिक क्षेत्रका विभिन्न व्यक्तिहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

























