चितवन विशेष
भरतपुरको गणेशधाममा गणेश उत्सव हुँदै

चितवन, साउन २२-
भरतपुर महानगरपालिका–११ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गणेशधाममा गणेश उत्सव हुने भएको छ । गणेशधाम संरक्षण सम्वद्र्धन समितिले भाद्र शुक्ल चतुर्थीको अवसर पारेर यही भदौ २९ देखि ३१ गतेसम्म गणेश उत्सव मनाउन लागिएको आज (शुक्रबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानाकारी दिएको छ ।
गणेशधाम नेपालकै महत्वपूर्ण गणेश तीर्थस्थलमध्ये एक मानिन्छ । प्राचीनकालदेखि नै सिद्धिधामका रुपमा प्रशिद्ध गणेशधाम क्षेत्रमा सिद्धिविनायक गणेश भगवानको विशेष पुजाआराधना गर्ने गरी त्रिदिवसीय गणेश उत्सवको आयोजना गरिएको गणेश उत्सव मुल समारोह समितिका अध्यक्ष गणेश चुकेले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो दिन गणपतिको पुजा अर्चनाका साथमा शास्त्रीय विधि पूर्वक मूर्तिकै स्थापना गरी गणेशको महिमा गान गरिनेछ ।
दोस्रो दिन भदौ ३० गते दुबो, लड्डु समिपत्र लगायतका गणेश भगवानका प्रिय वस्तुद्धारा उत्सवको विशेष पुजा गरिने उहाँले बताउनुभयो । अन्तिम दिन ३१ गते समानप पुजा पूर्ण हुति, अभिषेक र प्रसाद वितरण सहित सन्धयाकालमा बाजागाजा सहित उत्सव मूर्तिलाई नगरपरिक्रमा गरीस् नारायणी नदीमा विसर्जन गरिने छ । उत्सवका तीनै दिन विज्ञ आचार्यबाट गणेश महिमाको प्रवचन, भजनकीर्तन र भव्यआरतीका कर्महरु सञ्चालन हुनेछन् । उत्सव सफल बनाउन समितिले चुकेको संयोजकत्वमा ११ उपसमिति गठन समेत गरेको छ ।
गणेशधामको संरक्षण, सनातन संस्कृति प्रवद्र्धन र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले यस क्षेत्रमा विभिन्न पूर्वाधार निर्माण तथा संरक्षणका कार्य हुँदै आएका छन् । आचार्य फडिण्द्र पौडेलका अनुसार गणेशधाम गणेश भगवानले प्राथना गरेको स्थल भएको दावी गर्दै यसको खोजनीति अझै आवश्यक रहेको समेत बताए । ‘पुराणले सिद्ध गरेको स्थल भरतपुरको गणेशधाम नै हो,’ उनले भने ‘पुराणमा उल्लेख गरेअनुसार गण्डकको छेऊमा रहेको यस ठाउँ जस्तो मिल्दो ठाउँ अरु छैन ।’ गणेशधामका विषयमा विश्वव्यापी बनाउनुपर्ने समेत बताए । उत्सवले धार्मिक आस्था अभिवृद्धिसँगै स्थानीय पर्यटन, संस्कृति र सामाजिक सद्भाव प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।

























