चितवन विशेष

चितवनमा ‘शिवनगर युवा भजन समूह’ को स्थापना, साप्ताहिक भजन किर्तन सुरु

Banner

चितवन, साउन १९-

धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र युवापुस्तालाई भजन–कीर्तनमार्फत सकारात्मक गतिविधिमा जोड्ने उद्देश्यले चितवनको भरतपुर महानगरपालिका–१४, शिवनगरमा ‘शिवनगर युवा भजन समूह’ गठन गरिएको छ। श्रावण ९ गतेदेखि औपचारिक रूपमा स्थापना भएको समूहले नियमित साप्ताहिक भजन कार्यक्रम सञ्चालन गर्दै आएको छ। स्थापना भएकै दिन तीन सदस्यीय प्रारम्भिक कार्यसमिति चयन गरी गतिविधि सुरु गरिएको समूहले श्रावण १७ गते आइतबार भने ११ सदस्यीय पूर्ण कार्यसमिति गठन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा शिव रिजाल, उपाध्यक्षमा श्रियान्स थापा, सचिवमा सुजना गौतम, सहसचिवमा विष्णु गौतम तथा कोषाध्यक्षमा सविना सिलवाल चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा सुबिन शर्मा, तिलक भट्टराई, आरती सुवेदी, करुणा बोहोरा, अस्मिता तिवारी र विशाल ढकाल चयन भएका छन्।

समूहले अनुभवी व्यक्तिहरूको मार्गदर्शनका लागि पाँच सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ। समितिमा अनिल पौडेल, बसन्तराज चापागाईं, प्रेमप्रसाद सापकोटा, तुल्सीप्रसाद भट्ट र सूर्यप्रसाद लामिछाने रहेका छन्।

समूहका अध्यक्ष शिव रिजालका अनुसार युवालाई धार्मिक, सांस्कृतिक तथा नैतिक मूल्यसँग जोड्ने उद्देश्यले समूह स्थापना गरिएको हो। उनका अनुसार हाल समूहमा ३० वर्षमुनिका करिब ४० जना सक्रिय युवा आबद्ध छन्। समूहमा १६ वर्षदेखि माथिका किशोर–किशोरी तथा युवाहरूको सहभागिता रहेको उनले जानकारी दिए।

उनका अनुसार समूहले प्रत्येक सोमबार साँझ ७:३० बजेदेखि ९:३० बजेसम्म नियमित भजन–कीर्तन कार्यक्रम सञ्चालन हुनेछ । पवित्र श्रावण महिनाभर शिवनगरस्थित शिव पञ्चाङ्ग मन्दिरमा भजन कार्यक्रम आयोजना गरिने र भदौ महिनादेखि भरतपुर तथा आसपासका विभिन्न मन्दिरमा पुगेर पनि भजन–कीर्तन सञ्चालन गर्ने योजना रहेको अध्यक्ष रिजालले बताए।

धर्म, संस्कृति र सामाजिक सद्भावको संरक्षणमा युवाको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै उनले पछिल्लो पुस्तालाई सकारात्मक सोच, अनुशासन र सामाजिक उत्तरदायित्वतर्फ उन्मुख गराउने उद्देश्यले समूहलाई विस्तार गरिएको बताए। उनका अनुसार समूह स्थापना भएको छोटो समयमै स्थानीय समुदायबाट उत्साहजनक साथ र समर्थन प्राप्त भएको छ। हाल भजन–कीर्तनमार्फत जन्मदिनन मनाउने संस्कारलाई प्रोत्साहन दिन स्थानीयवासीले समूहलाई विभिन्न कार्यक्रममा निमन्त्रणा दिन थालेको उनले जानकारी दिए। अध्यक्ष रिजालका अनुसार जन्मदिनजस्ता व्यक्तिगत उत्सवलाई तडकभडकभन्दा धार्मिक र सांस्कृतिक वातावरणमा मनाउने प्रवृत्ति बढ्दै गएको छ। यही कारण शिवनगर युवा भजन समूहलाई विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रममा भजन प्रस्तुत गर्न निमन्त्रणाहरू आउन थालेका छन्।

स्थापनाको छोटो अवधिमै सक्रिय सदस्य संख्या करिब ४० पुगेको समूहले आगामी दिनमा धार्मिक चेतना अभिवृद्धि, सांस्कृतिक संरक्षण, सामाजिक एकता र युवाहरूको रचनात्मक सहभागिता बढाउने उद्देश्यसहित आफ्नो गतिविधिलाई थप विस्तार गर्ने जनाएको छ। धार्मिक आस्था राख्ने व्यक्तित्वहरुले पनि युवाहरूको यस्तो पहललाई सकारात्मक रूपमा लिँदै धार्मिक परम्पराको संरक्षणसँगै नयाँ पुस्तालाई सामाजिक उत्तरदायित्व र संस्कारसँग जोड्ने प्रभावकारी अभियानका रूपमा हेरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>