चितवन विशेष

एलपी ग्यास अनावश्यक सञ्चय नगर्न चितवन प्रशासनकाे आग्रह

Banner

चितवन, साउन १५ –
जिल्ला प्रशासन कार्यालय, चितवनले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव रहेको भन्ने गुनासो आएपछि सार्वजनिक सूचना जारी गर्दै जिल्लामा ग्यासको आपूर्ति नियमित रहेको स्पष्ट पारेको छ।

ग्यास उद्योग तथा आधिकारिक विक्रेतासँगको छलफलबाट चितवनमा विगतमा जस्तै नियमित रूपमा ग्यास आपूर्ति भइरहेको जिल्ला प्रशासनले सूचनामा उल्लेख गरेको छ । उपभोक्ताले आवश्यकता भन्दा बढी ग्यास सिलिन्डर सञ्चय गर्ने प्रवृत्तिका कारण बजारमा अभाव देखिएको हुन सक्ने प्रशासनको भनाइ छ।

जिल्ला प्रशासन कार्यालयले ग्यासको आपूर्तिको नियमित अनुगमन भइरहेको जनाएको छ। कृत्रिम अभाव सिर्जना गर्ने वा कैफियत देखिएका विक्रेता तथा सम्बन्धित पक्षमाथि आवश्यक कारबाही गरिने चेतावनी पनि दिइएको शुक्रबार जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । कार्यालयले नेपाल आयल निगमसँग चितवनका लागि थप कोटा उपलब्ध गराउन आग्रह गरिएको र आवश्यक परिमाणमा ग्यास उपलब्ध गराइने मौखिक आश्वासन प्राप्त भएको समेत जनाएको छ ।

प्रशासनले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न आग्रह गर्दै एकल महिला, ज्येष्ठ नागरिक, होस्टेलमा बस्ने विद्यार्थी, अपाङ्गता भएका व्यक्ति तथा आश्रममा बस्ने व्यक्तिहरूले नियमित विक्रेताबाट ग्यास प्राप्त गर्न नसके जिल्ला प्रशासन कार्यालयको टोल–फ्री नम्बर १६६००५६५२००१ मा सम्पर्क गर्न अनुरोध गरेको छ। तर उपभोक्ताले भने चितवनमा एलपी ग्यासको अभाव रहेको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>