चितवन विशेष
चितवनमा फैसला कार्यान्वयन प्रभावकारी हुँदै

चितवन, साउन ९-
जिल्ला प्रहरी कार्यालय चितवनले अदालतको फैसला प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आएको छ । विगत तीन आर्थिक वर्षमा फैसला कार्यान्वयनको क्रममा फरार प्रतिवादी पक्राउ पर्नेको सङ्ख्या बढ्दै गएको छ ।
प्रहरीले अदालतको फैसला कार्यान्वयनका लागि गत आर्थिक वर्षमा ८७७ जना पक्राउ गरी जिल्ला अदातलमा पेस गरेको छ । पक्राउ परेकाबाट फैसला कार्यान्वयनका लागि १२२ वर्ष आठ महिना २० दिन कैद र रु छ करोड ७६ लाख ४७ हजार ६१९ जरिवाना असुल गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार आर्थिक वर्ष २०८१/८२ मा फैसला कार्यान्वयनका लागि ५८३ जना पक्राउ गरिएको थियो । उनीहरूबाट १२७ वर्ष छ महिना तीन दिन कैद र रु दुई करोड ५८ लाख ७९ हजार ४१९ जरिवाना रकम असुल गरिएको थियो । यस्तै आर्थिक वर्ष २०८०/८१ मा ४५३ जनालाई पक्राउ गरी अदालतमा बुझाइएकामा १९६ वर्ष नौ महिना नौ दिन कैद र रु दुई करोड १४ लाख ९३ हजार ८५७ जरिवाना असुल गरिएको थियो ।
फैसला कार्यान्वयनका लागि सादा पोसाकमा प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो । बाहिर बसेर मुद्दा लड्ने तर फैसला आएपछि लुकिछिपी बस्ने गरेका व्यक्तिलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा बुझाउने गरिएको उहाँले जानकारी दिनुभयो । रासस

























