चितवन विशेष

टेलिसिरियल ‘भाइरल भोटे’को चितवनबाट छायांकन सुरु गरिने

Banner

चितवन, साउन ४

अर्गानिक मिडियाको प्रस्तुतिमा निर्माण हुन लागेको नयाँ नेपाली टेलिसिरियल ‘भाइरल भोटे’ को शुभमुहूर्त कार्यक्रम यही साउन ७ गते बिहीबार बिहान ८ बजे चितवनको भरतपुर–९ स्थित प्रसिद्ध धार्मिकस्थल बनदेवी मन्दिरमा आयोजना गरिने भएको छ। शुभमुहूर्तसँगै सिरियलको औपचारिक छायांकन पनि सुरु हुने निर्माण पक्षले जनाएको छ।

चितवनका कलाकार विशाल श्रेष्ठ (धर्ती पुत्र) को लेखन तथा निर्माणमा तयार हुन लागेको यस टेलिसिरियलको निर्देशन पिताम्बर आचार्य (साधुराम) ले गर्नेछन्। क्यामेरामा दिपक पौडेल रहनेछन् भने सम्पादन तथा नृत्य निर्देशनको जिम्मेवारी सुमित लामाले सम्हाल्नेछन्।
शुभमुहूर्त समारोहमा नेपाली चलचित्र क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूको सहभागिता रहने जनाइएको छ। कार्यक्रममा ‘सन्तान’, ‘कान्छी’ र ‘कर्जा’ लगायतका चर्चित चलचित्रका निर्माता तथा गायक, संगीतकार प्रसाद श्रेष्ठ, वरिष्ठ कलाकार ऋद्धिचरण श्रेष्ठ, चलचित्र निर्माता ठाकुर पौडेल, कलाकार ईश्वरी बराल लगायतका चलचित्रकर्मी तथा कलाकारहरूको उपस्थिति रहनेछ।

निर्माण पक्षका अनुसार ‘भाइरल भोटे’का लेखक तथा निर्माता लामो समयदेखि नेपाली कला क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनले यसअघि नारायणी कलामन्दिर मार्फत विभिन्न सांस्कृतिक गतिविधिमा योगदान दिएका थिए। साथै निर्देशक पिताम्बर आचार्यको निर्देशनमा बनेको ‘सपना, साधुराम, ड्राइभर’ लगायतका टेलिसिरियल तथा विभिन्न सिरिजमा समेत उनी सक्रिय रहेका छन्। उनले यसअघि नेपाली कथानक चलचित्र ‘साली कस्को भेना’ को निर्माणसमेत गरेका थिए।

टेलिसिरियलमा विशाल श्रेष्ठ (धर्ती पुत्र), पिताम्बर आचार्य, दिपक पौडेल, सुनिता आचार्य, सीएम भुसाल, मुक्ति अधिकारी, नवीन अधिकारी, अजय श्रेष्ठ, प्रज्ज्वल मगराती, सानुमाया बास्तोला, शोभा पाण्डे, गोमा रिजाल, ईश्वरी बराल, रिदम श्रेष्ठ, विजय, विनोद गुरुङ, संस्कार लगायतका कलाकारहरूको अभिनय रहनेछ। साथै टिकटकमा ‘सौतासौती’ नामक आईडीमार्फत चर्चित बनेका कलाकार दुर्गा पुरी र शर्मिला पुरी पनि यस टेलिसिरियलमा देखिनेछन्।

निर्माण टोलीले नेपाली समाजका समसामयिक विषयवस्तुलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने उद्देश्यसहित ‘भाइरल भोटे’ निर्माण गर्न लागिएको जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>