खेलकुद
इजरायलका प्रधानमन्त्री नेतन्याहुको समर्थन अर्जेन्टिनालाई, फाइनलअघि दिए शुभकामना

काठमाडौं,साउन ३-
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार हुने फिफा विश्वकप फाइनलअघि अर्जेन्टिनालाई आफ्नो समर्थन रहेको बताएका छन् ।
इजरायलका लागि अर्जेन्टिनाका राजदूत तथा रब्बी शिमोन एक्सेल वाहनिशसँग भेटका क्रममा नेतन्याहुले अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईको सन्देश प्राप्त गरेका थिए। राजदूत वाहनिशका अनुसार मिलेईले नेतन्याहुलाई आफ्नो ‘सच्चा मित्र’ भन्दै शुभकामना पठाएका थिए ।
त्यसको जवाफमा नेतन्याहुले भने, ‘हाभियर, तपाईं मेरो मित्र हुनुहुन्छ। साँचो मित्र, तपाईं महान् मित्र हुनुहुन्छ। हामी तपाईंलाई समर्थन गर्छौं। अर्जेन्टिनालाई पनि धेरै हिसाबले समर्थन गर्छौं, भोलिको खेलमा पनि । शुभकामना !’
स्पेन र अर्जेन्टिनाबीच हुने विश्वकप फाइनललाई धेरैले खेलभन्दा पनि प्रतीकात्मक प्रतिस्पर्धाका रूपमा हेरेका छन्। यसको मुख्य कारण इजरायलप्रति मड्रिड र ब्युनस आयर्सको फरक राजनीतिक दृष्टिकोण हो ।
यसैबीच सामाजिक सञ्जालमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीको आलोचना गर्दै तथा यहूदी समुदायविरुद्ध षड्यन्त्रसम्बन्धी आधारहीन र यहूदीविरोधी दाबीहरू पनि फैलिएका छन् ।

























