खैरहनी
रामपुर कृषि क्याम्पस पुगेर शिक्षामन्त्रीले भने- १५ वर्षदेखिको जग्गा विवाद अब समाधान हुन्छ

चितवन,साउन २-
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले चितवनको खैरहनीस्थित रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुगमन गरेका छन् । त्यसक्रममा मन्त्री पोखरेलले दुवै संस्थाबीच विगत १५ वर्षदेखि कायम रहेको जग्गा विवाद समाधान गर्ने प्रतिबद्धता जनाए ।
रामपुर कृषि क्याम्पस त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस हो भने कृषि तथा वन विज्ञान विश्वविद्यालय छुट्टै विश्वविद्यालय हो । मन्त्री पोखरेलले दुवै संस्थाको शैक्षिक, अनुसन्धान तथा प्रशासनिक गतिविधि, पूर्वाधार र प्रयोगशालाको अवलोकन गरी क्याम्पस तथा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी र सरोकारवालासँग छलफल गरे ।
छलफलका क्रममा रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच लामो समयदेखि कायम रहेको जग्गा विवादका कारण दुवै संस्थाको शैक्षिक विकास, पूर्वाधार विस्तार तथा दीर्घकालीन योजना प्रभावित भएको विषय उठाइएको थियो । शिक्षामन्त्री पोखरेलले सरकारले समन्वयात्मक र कानुनी प्रक्रियामार्फत विवाद समाधानको पहल गर्ने बताउँदै रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालय दुवैको शैक्षिक हित सुरक्षित हुने गरी समाधान खोजिने स्पष्ट पारे ।
उनले यी शैक्षिक सस्थाहरू नेपालको कृषि शिक्षा, अनुसन्धान, प्रविधि विकास तथा दक्ष जनशक्ति उत्पादनका महत्त्वपूर्ण आधार भएकाले कुनै पनि संस्थालाई कमजोर बनाउने नभई दुवैलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यका साथ सरकारले आवश्यक पहल गर्ने बताए ।
सरोकारवालाहरूले सरकारको सक्रिय पहलबाट १५ वर्षदेखि कायम विवाद अन्त्य भई दुवै संस्थाको शैक्षिक तथा अनुसन्धान गतिविधिले नयाँ गति लिने विश्वास व्यक्त गरेका छन् । अनुगमनमा प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल र शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य प्रभा ढकाल तथा शिक्षा तथा खेलकुदमन्त्रीका सल्लाहकारद्वय शैलेन्द्र झा र सरोज गौतम सहभागी थिए ।

























